समाचार

बलात्कारपछि हत्या हुनेमा २१ प्रतिशत दलित बालिका

काठमाडौँ । बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययन अनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको छ ।

सङ्घले १०९औँ अन्तर्राष्ट्रिय नारी दिवस ९८ मार्च’ को सन्दर्भमा यहाँ सोमबार आयोजना गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन् । कूल जनसङ्ख्याको १३ प्रतिशत जनसङ्ख्या दलित समुदायको छ, जसमा आधा सङ्ख्या महिलाको छ । अन्य जातजातिको करीब जनसङ्ख्याको अनुपात बराबर बलात्कारका घटना भएका छन् भने दलितको हकमा भने जनसङ्ख्याको दोब्बर प्रतिशत रहेको देखिन्छ ।

प्रतिनिधिसभाकी सांसद अञ्जना विशङ्खेले दलित समुदायका युवतीलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले पनि दलित युवतीमाथि बलात्कारका घटना बढेको जिकिर गरे । नेपाल प्रहरी महिला तथा बालबालिका सेलका अनुसार महिलामाथि घरेलु हिंसा बढिरहेको र सन् २०१८ को सर्वेक्षणअनुसार ३७ प्रतिशतले घटना बढेको छ ।

अधिवक्ता मीरा ढुङ्गानाले महिलामाथि हुने हिंसाका घटनाको न्यूनीकरणका लागि ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दलित महिला सङ्घकी पूर्वअध्यक्ष दुर्गा सोवले न्यायमा विभेद छ भन्दै दलित तथा कमजोर वर्गले सहजै न्याय पाउने अवस्था नरहेको बताए ।