समाचार

पदको दुरुपयोग गर्ने जोकोहीलाई पनि कारवाही हुन्छः महानिरीक्षक खनाल

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको सोमबार उद्घाटन गर्दै उनले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही गरिने बताए।

अहिले प्रहरीले नकारात्मक काम निरुत्साहित गर्न अभियान सञ्चालन गर्न लागेको खनालले बताए । उनले भने, “अभियानका लागि देशभरका ७४८ स्थानीय तहसँग सम्झौता भइसकेको छ, यसबाट ६० हजार विद्यार्थी लाभान्वित हुने छन् ।” सो अवसरमा खनालले डाँफे र मुनाल सदनको उद्घाटन गरे । रु सात करोड ७३ लाख ९७ हजारमा भवन निर्माण गरिएको हो ।