बाग्मती

सिङ्गापुर बन्न तीस वर्ष लाग्यो, नेपाल अबको चार वर्षभित्र सुन्दर र समृद्ध बन्नेछ: मन्त्री महासेठ

ललितपुर । भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले छिट्टै ललितपुरदेखि मकवानपुर जोड्ने पुलको बोलपत्र आह्वान गरिने बताएका छन् । गोदावरी नगरपालिकाले तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महासेठले आगामी जेठ मसान्त सम्ममा कान्ति राजपथ निर्माणको अर्को बोलपत्र पनि आह्वान गर्ने तयारी अघि बढेको जानकारी दिए । चालू आवमा बर्दिवासदेखि निजगढसम्म सडक निर्माण सम्पन्न गरिने बताउँदै उनले काठमाडौँ–केरुङमार्ग जोड्ने सडक निर्माणमा सरकार अघि बढेको जानकारी दिए ।

देशभर विकासको गति अघि बढाउन यस वर्षभित्र आठ लेन, चार लेन र दुई लेनका ६ हजारदेखि आठ हजार सडक तथा करीब ४०० पुल पनि बन्ने उनले बताए । “सिङ्गापुर बन्न तीस वर्ष लाग्यो, नेपाल अबको चार वर्षभित्र सुन्दर र समृद्ध बन्नेछ”, उनले भने । चार वर्षभित्र सङ्घीय सरकारले एक हजार पाँच सय किमी सडक र दुई हजार आठ सय किमी रेलमार्ग निर्माण गर्ने जिम्मा लिएको पनि उनले बताए ।
नेपालमा भौतिक पूर्वाधारमध्ये सडककै समस्या रहेको बताउँदै सडक विस्तार र मर्मतका लागि क्षतिपूर्ति र मुआब्जा दिएर काम अघि बढाइने उहाँले स्पष्ट गरे । विकासमा रकम कम हुन नदिइने बताउँदै उनले काम भने समयमै पूरा हुनुपर्नेमा जोड दिए ।
उनले बजेटको सदुपयोग गरेर गोदावरी नगरपालिकाको विकास गर्न त्यहाँका सम्पूर्ण पदाधिकारीलाई आग्रह गरे । त्यहाँका १४ वटै वडाका जनप्रतिनिधिलाई अति आवश्यक काममा मात्र बजेट खर्च गर्न आग्रह गरे ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य नवराज सिलवालले गोदावरी र चापागाउँको सडक विस्तारले चाँडै यहाँ विकासको गति अघि बढाउने बताउँदै गोदावरीलाई समृद्ध नगर बनाउन जनप्रतिनिधि र कर्मचारी मिलेर संँगै अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले सो नगरपालिका भौगोलिक रुपमा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका भएको बताउँदै यसलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सञ्जेलले भने, “ सातदोबाटोदेखि चापागाउँ जोड्ने सडक मर्मत गर्न मन्त्रीलाई आग्रह गरिसकेका छौँ, यो प्रस्ताव चाँडै पूर्ण हुनेछ भन्ने विश्वास लागेको छ ।”
अर्का प्रदेशसभा सदस्य राजकाजी महर्जनले प्रदेश सरकारले ललितपुरमा रु ५६ करोड र गोदावरीमारु १५ करोड विनियोजन गरेको जानकारी दिँदै रु ६ करोड बजेट ठैव र ठेचोमा विकासनिर्माणका काम सम्पन्न गर्न खर्च भए पनि बाँकी रु ९ करोडको काम कहाँ कहाँ गर्ने भन्ने अन्योल रहेको बताए ।

पूर्वसांसद सुशीला नेपालले तीन सरकार मिलेर चुनावका बेला जनतासंँग गरिएका वाचा पूरा गर्न जनप्रतिनिधिलाई आग्रह गरिन् । नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले गोदावरीलाई नमूना नगरीका रुपमा विकास गर्न आफूहरु लागिपरेको जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले जिल्लाको ऐतिहासिक स्थलको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए । नेपाली काङ्गेस ललितपुरका प्रतिनिधि पुरुषोत्तम सिलवालले नगरपालिकाको विकासमा दुर्लभ जडीबुटीले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले पर्यटकीय हिसाबले धनी नगरपालिका भएकाले देशकै नमूना नगरपालिका बनाउन आह्वान गरे । सो नगरपालिकाको आफ्नै नयाँ नगरगान सार्वजनिक गरियो । कार्यक्रममा कविता वाचन, पुरस्कार र कदरपत्र वितरण, रक्तदान लगायत गोदावरीका उद्यमी महिलाले बुनेका मालापोते जुत्ता प्रदर्शनी र खरीदबिक्री गरिएको थियो । गोदावरीमा बाह्रवर्षे मेला लाग्ने गोदावरी कुण्ड, वैतरणी धाम (गोटीखेल), सन्तानेश्वर महादेव (झरुवारासी), वज्रवाराही(चापागाउँ), विशङ्खृुनारायण (विशङ्खु), शान्ति वन आदि पर्छन् ।