राजनीति

सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता सहमतिमै स्वागतयोग्य गर्नुपर्छ: अध्यक्ष थापा

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताएका छन् । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, “सरकार र सिके राउतबीच भएको सहमति स्वागतयोग्य छ । सहमतिमा भएका कतिपय अस्पष्टतालाई सरकारले प्रष्ट पार्नुपर्छ ।’’

नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीको हिंसात्मक गतिविधितर्फ इङ्गित गर्दै अध्यक्ष थापाले भने, “दमनको नीतिले समाधानमा पुग्न सकिदैन् । सरकार यस विषयमा गम्भीर हुनैपर्छ ।” एक प्रश्नको जवाफमा उनले प्रधानमन्त्री केपी शर्मा ओली सबल र सक्षम नेतृत्वकर्ता भए पनि सरकारको मार्गचित्र स्पष्ट नभएकाले जनतामा अन्योलताको अवस्था देखिएको बताए ।

उनले आफ्नो दलको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कुनै दल विशेषको विरोधमा नभई राष्ट्रिय अखण्डता, स्वतन्त्रता, हिन्दूत्वको रक्षाका लागि भएको बताए । आइतबार नेपालगञ्ज पुगेको स्वाभिमान यात्रा आज दाङका लागि प्रस्थान गरेको छ । चैत १ गते काठमाडौँको भृकुटीमण्डपमा आमसभाको आयोजना गरी यात्राको समापन गरिने बताइएको छ ।