प्रदेश 2

तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

सिरहा । तरकारीको बिक्री मूल्य निर्धारण गर्ने निकाय नहुदाँ यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । व्यापारीले तरकारीको मूल्य आफैँ निर्धारण गरी बिक्री गर्दै आएकाले उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य भएका हुन् ।

मूल्य निर्धारण निकाय नहुँदा तरकारीको बजारअनुसार एकरुपता छैन । एकदेखि अर्को बजारमा मूल्य फरक पर्दा उपभोक्ताहरु तरकारी चर्को मूल्यमा खरीद गर्न बाध्य छन् । एउटा बजारमा रु ३० किलो पाइने प्याज अर्को बजारमा रु ३५ देखि ४० पर्ने गरेको लहान निवासी धुव्र सुवेदीले बताए । कृषि विकास कार्यालयका अनुसार लहान नगरपालिकामा दुई तरकारी बजार छन् भने जिल्ला भरिमा तीन दर्जन ग्रामीण हाटबजार लाग्छन् । ती बजारमा तरकारीको मूल्यमा एकरुपता छैन ।

जिल्लामा बिर्तामोड, भैरवा, मकवानपुरलगायत क्षेत्रबाट तरकारी भित्रिने गरेको छ भने यहाबाट पनि काठमाडौँलगायत अन्य जिल्लामा मौसमी र बेमौसमी तरकारी निर्यात हुने गरेको छ । अधिकांश यहाँका बजारमा स्थानीय उत्पादनको तरकारी बिक्री हुदैँ आएको छ ।