प्रदेश 1

विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा

विराटनगर । प्रदेशसभाको बैठकमा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले सरकारको तीन खम्बे अर्थनीतिअनुरुप सहकारी पनि एउटा पाटो भएकाले त्यो ऐन सहकारी लगानीमैत्री हुनुपर्ने धारणा राखे।

उनले यो ऐनमा सहकारी विकास बोर्डको अवधारणा आउनुपर्ने उल्लेख गर्दै विकास, समृद्धिको यात्रामा सहकारीलाई कसरी समावेश गर्ने कुरा ऐनमा प्रष्ट आउनुपर्नेमा जोड दिए । सदस्य बिन्दिया कार्कीले यो विधेयकलाई असल र राम्रो बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गरे ।

शून्य समय

प्रदेशसभा सदस्य रामकुमार राईले खोटाङको धाकलाङमा निर्माणाधीन पुलले लामो समय पार गरिसक्दा पनि सम्पन्न नभएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले हरिहर/गजुरमुखी निर्माण कम्पनीले जिल्लामा थालेका विकास निर्माण कार्यमा निकै सुस्त गतिमा अगाडि बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

सदस्य सरिता थापाले नेपाल र तिब्बतसँग जोड्ने किमाथाङ सडकको अरुण नदी किनारमा रहेका २०० रोप्नी जग्गालाई संरक्षण गर्न प्रदेश सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिईन् ।

प्रदेशसभाको अर्को बैठक फागुन २८ गते दिउँसो १२ बजे बस्ने छ ।