प्रदेश 2

महिनौं वितिसक्दा पनि एम्बुलेन्स, एक्स–रे, प्रसूति सेवा सञ्चालनमा हुन सकेन

गौशाला । महोत्तरी सम्सी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स–रे मेशिन आएको महिनौं वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् ।

“महीनौँदेखि एम्बुलेन्स अस्पताल परिसरमै थन्किएको छ, एक्स–रे मेशिन त गोदाममै थन्किएको छ । निःशुल्क प्रसुति सेवा त अझैं सञ्चालनमा आउन सकेको छैन, यी सेवा सञ्चालन नहुँदा सेवाग्राही” स्थानीयवासी अरुण यादवले भने ।

जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित डा सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री बनेपछि त्यस क्षेत्रकै प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स–रे मेशिन प्रदान गरेका थिए भने केन्द्रमा निःशुल्क प्रसूति सेवा प्रदान गर्न व्यवस्था गरिएको थियो ।
सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र यादवका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन । उनले एम्बुलेन्सका लागि चालक नरहेको, एक्स–रे मेशिन सञ्चालनका लागि प्राविधिक नरहेको र प्रसूति गृह सञ्चालनका लागि स्टाफ नर्स नरहेकाले ती सेवाका लागि स्रोत, सामग्री उपलब्ध रहे पनि सेवा सञ्चालनमा आउन नसकेको बताए ।

एम्बुलेन्स सञ्चालनमा नहुँदा सम्सीलगायत त्यस क्षेत्रका दर्जनौँ गाउँका बिरामीले १५ किलोमिटर टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वरबाट बढी शुल्क र समय खर्चेर एम्बुलेन्स सेवा लिनुपरेको छ । यसका आलावा आकस्मिक बिरामी भएर एक्स–रे र अन्य विशेष उपचार गराउनका साथै प्रसूति गराउनुपर्दा ‘जीवन ज्योति हस्पिटल’मा चर्को मूल्य तिरेर उपचार गराउनुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

बिहान ढिलो खुल्ने र दिउँसो चाँडै बन्द हुने प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिँदा यहाँ कार्यरत कर्मचारी पनि मनोमानी गर्दछन् । उनीहरु केबल हाजिर गर्नका लागि अस्पतालमा आउने र त्यसपछि घर गइहाल्ने गरेको आरोप लगाउँदै स्थानीयवासीले सोही कारण सामान्य सेवा पनि आम जनताले पाउन नसकेको अवस्था रहेको छ ।

त्यस अस्पतालमा एमबिबीएस डा अमित रञ्जन, हेल्थ असिस्टेन्ट शिवकला साह र सञ्जयकुमार यादव, सिएमए मोहन मण्डल र सहदेव यादव, स्टाफ नर्स सिर्जना तामाङ, अनमी रुकमणि यादव र सत्यसिंह कार्यरत रहे पनि उनीहरु नियमित र दिनभरि उपस्थित नरहने गरेको सर्वसाधारणको गुनासो छ ।

यसका साथै त्यस अस्पतालमा लामो समयदेखि औषधि खरीद नभएको र कतिपय कर्मचारीले तलबसमेत नपाएकाले त्यस अस्पतालमा विभिन्न समस्या रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

सम्सी गाउँपालिकाका अध्यक्ष फारुक शेषले सँग जानकारी लिँदा लामो समयदेखि अस्पतालमा व्यवस्थापन समिति नरहेका कारण अस्पतालमा धेरै समस्या रहेको बताए।

उनले समितिकै कारण एम्बुलेन्सका चालक नियुक्ति गर्न नसकिएको, नेपाल सरकारबाट प्राप्त सेवा सञ्चालनमा ल्याउन नसकिएको, करारमै भए पनि दक्ष जनशक्ति नियुक्त गर्न नसकिएको पनि बताए ।

लामो समयदेखि सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरीद र कर्मचारीको तलबसमेत खुवाउन नसकिएको अध्यक्ष शेषले बताए । अब चाँडै ती सबै समस्या समाधान हुने र प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा सञ्चालनमा आउने पनि बताए ।