अन्तर्राष्ट्रिय

बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको उडान तत्काल स्थगन गर्न निर्देशन–चिनीया अधिकारी

वासिङ्टन । चीनले आन्तरिक एयरलाइन्स कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको व्यापारिक, व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ । यही मोडेलका दुई वटा विमान छ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएपछि चीनले यो कदम चालेको हो ।

दुबै दुर्घटनामा एकै किसिमका समस्या देखिएको भन्दै चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरु नउडाउन निर्देशन दिएको छ ।

प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो र सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने उल्लेख गरेको छ । वक्तव्यमा उड्डयन प्रशासनले अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने बताइएको छ ।

बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना ९कोमाक० ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ ।

यो कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । यो विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ ।

इथियोपियन एयरलाइन्सद्वारा ७३७ म्याक्सका उडान स्थगित

इथियोपियन एयरलाइन्सले बोइङ ७३७ म्याक्स मोडेको विमान दुर्घटनाग्रस्त भएसँगै यस मोडेलका अरु विमान तत्काल नउडाउने निर्णय गरेको छ ।

“इटी ३०२ को दुखदायी दुर्घटनासँगै इथियोपियन एयरलाइन्सका सबै बी–७३७–८ म्याक्स विमानहरुको उडान अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको छ,” एयरलाइन्सका तर्फबाट जारी ट्वीटमा भनिएको छ ।

इथियोपियन एयरलाइन्स इथियोपियाको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी हो ।