अन्तर्राष्ट्रिय

छ महिनाभित्रै दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको विमान सुरक्षामाथि प्रश्नचिन्ह

वासिङ्टन । छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।

बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ । चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन् ।

आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही ७३७ मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो दुर्घटनाका बारेमा महत्वपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानी सङ्ग्रह गर्ने दुईवटा ब्लाक बक्स हुन् । यी दुई उपकरणमा सङ्ग्रह हुने सूचनाको विश्लेषण र अध्ययनबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा अरु कारणहरु पत्ता लाग्न सक्दछ ।

“पाइलटले कठिनाई अनुभव गरेको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेश दिइएको थियो,” इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आदिस अबाबामा पत्रकारहरुलाई बताए ।

विमान उडानका बखत इथियोपियाली राजधानी आदिस अबाबाको मौसम राम्रो थियो ।

टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबुलाफियाले भने, “दुबै दुर्घटनाग्रस्त जहाज एकै मोडेलका हुन् । लायन एयर झैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ र पाइलटले पनि प्राविधिक समस्या आएको खबर गर्नासाथ दुबै विमान दुर्घटनाग्रस्त भएका छन् । दुबैमा एकै प्रकृतिको समस्या देखियो ।”

चिनीया नागरिक उड्डयन अधिकारीहरुले पनि दुबै ज्यानमारा दुर्घटनाबीच समानता देखिएको बताएका छन् । विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडेलका विमान उडान रोक्ने निर्णय भएको उनीहरुले बताए ।

बोइङले ७३७ म्याक्स मोडेलका ७६ वटा विमान चिनीया एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अरु १०४ वटा विमानका लागि आदेश दिइसकेको छ । विश्वका इन्डोनेसिया समेत अरू कतिपय मुलुकमा पनि बोइङ ७३७ म्याक्स मोडेलका विमान सञ्चालनमा छन् ।

लायन एयर दुर्घटनाग्रस्त भएयता ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ । मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडान समेत स्थगित गरेको थियो । यस जहाजको इन्जिन फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिन्स र जीई एयिएसनको संयुक्त साझेदारीमा निर्माण गरिएको सीएफएम इन्टरनेसनल नामको कम्पनीले बनाएको हो ।

जनवरीको अन्त्यतिर बोइङले दुई इन्जिनयुक्त न्यारो–बडीका ३५० थान विमान बिक्री गरेको थियो जबकी बोइङसँग पाँच हजार ११ थान जहाजको माग आएको थियो ।

पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन् ।

“अर्को दशकमा बोइङका लागि म्याक्स निकै महत्वपूर्ण कार्यक्रम हो । सन् २०३२ सम्म कम्पनीका उत्पादनको करिब ६४ प्रतिशत हिस्सा यही मोडेलको हुनेछ,” बजार विश्लेषक मिसेल मार्लुजीले बताए । “विश्वको यातायात र व्यापारका लागि यो अत्यावश्यक साधन हो ।”

बोइङले इथियोपियन एयरलाइन्स दुर्घटनाबाट आफूहरु अति दुःखी भएको जनाएको छ । अनुसन्धानकर्ताहरुलाई बोइङका प्राविधिकहरुले पूर्ण सहयोग गर्ने पनि बोइङको भनाई छ ।

विज्ञहरुले पछिल्ला दुई घटनाले बोइङको बजार प्रभावित हुन सक्ने बताएका छन् । तर कम्पनीलाई हुन सक्ने क्षति सीमित मात्र हुनेछ किनभने यसको प्रतिस्पर्धी हाल एयरबस कम्पनीमात्र रहेको छ ।

बोइङको प्रतिष्ठा र अस्तित्वसँगै जोडिएकाले कम्पनीले सबै किसिमका प्राविधिक समस्या सुल्झाउन भरमग्दूर प्रयत्न पनि गर्नेछ ।

इन्डोनेसियामा अक्टोबर २९ मा भएको दुर्घटनापछि नै हवाई उड्डयन क्षेत्रका विज्ञहरुले विमानका बारेमा पर्याप्त सूचना सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए ।