सुदूरपश्चिम

प्रादेशिक महोत्सवमा एकै दिन पाँच लाखको टिकट बिक्री

डोटी । नेपाल चेम्वर अफ कमर्शले जिल्लाको दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा रु पाँच लाखभन्दा बढीको टिकट बिक्री भएको छ । यही फागुन १७ गतेदेखि शुरु भएको उक्त महोत्सवमा शनिबार एकै दिनमा महोत्सवस्थल भरिभराउ भएपछि आयोजकले केही समयका लागि टिकट बिक्रीमा समेत रोक लगाएको थियो । महोत्सवको आकर्षणका रुपमा रहेका रमेशराज भट्टराईलाई हेर्न हजारौँ दर्शक महोत्सवस्थल पुगेका थिए ।

भट्टराईले ‘बेहुला बनाउँथे भन्थी बहुँला बनाएर गई’ भन्ने बोलको गीत गाउँदा महोत्सवस्थल पूरै रमेको थियो । त्यस्तै नेपाली हास्य टेलिशृङ्खलाका कलाकार जिग्री र पाण्डे पनि अतिथि कालाकारका रुपमा कर्यक्रममा सहभागी भएका थिए । जिग्री र पाडेले दर्शकलाई हसाउनुका साथै नचाएका पनि थिए । महोत्सव आयोजकका अनुसार आठ दिनमै करीब रु १५ लाखको टिकट बिक्री भएको छ ।

उक्त महोत्सव क्षेत्रमा आयोजकले सञ्चालन गरेको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट हालसम्म ५०० भन्दा बढी बिरामीले सेवा लिएका र ८० भन्दा बढीले निःशुल्क चश्मा पाएको आयोजक चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए । उनका अनुसार आँखाका ३० भन्दा बढी बिरामीको शल्यक्रियाका लागि जिल्ला बाहिर सिफारिश गरिएको छ ।

त्यस्तै सीतारम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदानका लागि करीब रु १३ हजारसमेत सङ्कलन भएको उक्त संस्थाका कार्यालय प्रमुख गौतम रोकायाले जानकारी दिए । महोत्सव यही फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवलोकनका लागि छिमेकी जिल्ला कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा तथा बैतडीका बासिन्दा पनि आएको चेम्बरका प्रेस सल्लाहकार रोजेन्द्र जोशीले बताए ।