कर्णाली प्रदेश

ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन

जुम्ला । जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा महिला र बालबालिकालाई घरआँगनमै पुगी स्वास्थ्य सेवा दिँदै आएको छ ।

हिमा गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत ग्रामीण भेगमा पुगी स्वास्थ्य परीक्षण गरी उपचार गर्ने गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक क्षेत्र महतका अनुसार विभिन्न गाउँमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी सयौँको स्वास्थ्य परीक्षण गरी उपचार गरिएको छ ।

उनले भने, “ज्येष्ठ नागरिक र बालबालिका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा लिन नसक्ने भएकाले पटकपटक स्वास्थ्यकर्मी र औषधि बोकेर ग्रामीण भेगमा पुगेर उपचार गर्ने गरेको छ । चिसो मौसम, खानपान र सरसफाइ अभावका कारणले रुघाखोकीले स्थानीयवासी बढी प्रभावित हुने गरेको उहाँको भनाइ छ ।

“गाउँपालिकामा तीन श्ययाको प्राथमिक उपचार केन्द्रसहित तीन वटा स्वास्थ्य संस्था रहेका छन्,” संयोजक महतले भने, “कुनै पनि स्वास्थ्य चौकीमा औषधिको अभाव हुन दिएका छैनौँ । चालू आवको दोस्रो चौमासिकको फागुन अन्तिम सातासम्म कुनै पनि सेवाग्राहीले औषधि नपाएको, उपचार नपाएको भनी गुनासो नआएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

उनले भने, “गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माणका कामदेखि सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य उपचारका विषयमा जनगुनासो आए सुझावका रुपमा लिने र सोहीअनुसार काम गर्ने गरेका छौँ ।” फागुन २८ र २९ गते हिमा गाउँपालिका–१ बड्कीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्ययोजना रहेको उनले बताए ।

यसैबीच हिमा गाउँपालिकाले १४ जना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । १०९औँ श्रमिक महिला दिवसका अवसरमा महिला ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । महिला ज्येष्ठ नागरिकलाई न्यानो कपडा, धोती, पछ्यौरो प्रदान गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताए।