खेलकुद

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

काठमाडौँ । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ ।
अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ ।

उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् ।
आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । उक्त प्रतियोगिताका लागि नेपाल फुटसल सङ्घले खेलाडी छनोट गरिसकेको जनाइएको छ । उक्त विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।