लुम्बिनी

ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाउने

लमही । प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाउने भएको छ ।

दाङ क्षेत्र नं ३ ‘ख’ बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण योग्दान गरेको भन्दै उनको योगदानस्वरुप स्मृति प्रतिष्ठान गठन गर्ने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । “पश्चिम दाङको विकासका लागि छोटो समयमै उत्तरकुमार ओलीको भूमिका महत्वपूर्ण छ,” उनले भने, “उनको सम्मानस्वरुप प्रतिष्ठान बनाउने योजना बनाएका हौँ ।”

दङ्गीशरण गाउँपालिका–६ लेटार ओलीको सम्झनामा दाङको दङ्गीशरण गाउँपालिकाले उनको सालिक निर्माण गर्ने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । “हामीले पश्चिम दाङका समस्या केन्द्रसम्म पुर्याउने एउटा पुल गुमाएका छौँ,” उनले भने, “स्व ओलीको सम्झनामा गाउँसभा र कार्यपालिका बैठकबाट छलफल गरी सालिक निर्माण गर्नेछौँ ।”

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि स्व। ओलीको सपना साकार पार्न स्मृति वाटिका निर्माण गर्ने जनाएको छ । तुलसीपर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सांसद ओलीले अघि सारेका विकासका ऐजेण्डलाई समृद्धिका लागि अगाडि सारिने तथा उनको सम्झनामा स्मृति वाटिका निर्माण गरिने बताए ।

“ स्व ओलीले पश्चिम दाङको विकासका लागि थुप्रै एजेण्डाहरु अघि सार्नुभएको थियो,” उनले भने, “तर उनले ती योजनाहरु पूरा गर्न पाउनु भएन, अब उनले अघि सारेका एजेण्डाहरु हामीले पूरा गर्नुपर्छ ।” उनले स्व ओलीको निर्वाचन क्षेत्र तुलसीपुरका चारवटै वडामा तीनवटै सरकार मिलेर विशेष कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको समेत बताए ।