बाग्मती

सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भनाइ छ ।

स्वस्थ शहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौँ महानगर पनि एक हो । शहरमा धूम्रपान तथा सुर्तीजन्य वस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ एवं स्वच्छ शहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गर्न लागिएको कामपाका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठले’ जानकारी दिए ।

नसर्ने रोगको जोखिमबाट मानिसको स्वास्थ्यलाई मुक्त गराउन कामपाले सार्वजनिकस्थलमा धूम्रपान तथा सुर्तिजन्य वस्तुको नियमनका लागि १८ महीने कार्ययोजना सञ्चालन गरिरहेको छ । धूम्रमान तथा सुर्तिजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य, वातावरणमा हानी पु¥याउने तथा आर्थिक, सांस्कृतिक र सामाजिक क्रियाकलापमा समेत प्रत्यक्ष असर पुर्याउने भएकाले यस किसिमको अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख खड्गीको भनाइ छ ।

कानूनले सार्वजनिक स्थानमा धूम्रपान निषेध गरेको छ, तर व्यक्तिमा कानूनी व्यवस्थाको पालनामा ध्यान गएको छैन । अब अस्पताल, विद्यालयजस्ता क्षेत्र छुट्याएर कुनै एक स्थानमा सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा उपयोगमा रोक लगाउनुपर्ने र त्यस क्षेत्रमा पूर्ण निषेध भएपछि अन्यत्र स्थानमा गए कार्यान्वयन प्रभावकारी हुने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार, निष्क्रिय जीवनलगायत छन् । स्वस्थ जीवनको चुनौती सामना गर्न सबै एक हुनुपर्नेछ । अब कामपाले वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम पनि चलाउने भएको छ ।