साहित्य

महासचिव वैद्यद्वारा स्मृतिग्रन्थ विमोचन

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’को आज विमोचन गरेका छन् ।

लेखक, चिन्तक तथा प्राध्यापक हुँदै विभिन्न समयमा क्रियाशील कम्युनिष्ट पार्टीको उच्च पदमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय ढकालको अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा रहेकै अवस्थामा विसं २०६८ मा निधन भएको थियो ।

स्व ढकालको सातौँ स्मृति दिवशको अवसरमा घनश्याम ढकाल स्मृति सांस्कृतिक प्रतिष्ठानले आज आयोजना गरेको परिचर्चा कार्यक्रममा छोटो समयमा नेपाली साहित्यमा ठूलो योगदान दिएको जानकारी दिइयो । ढकालको १६ भन्दा बढी कृति प्रकाशित छन् । जसमा पाँच वटा कथा सङ्ग्रह, गाउँभित्र र रातो आकाश दुई उपन्याश, पाँच कविता सङ्ग्रह, तीन समालोचना, तीन वटा निबन्ध तथा विभिन्न पत्रपत्रिकाको सम्पादन गर्नुभएको थियो ।

उहाँ राष्टिय प्रतिभा पुरस्कार २०५१, साहित्य सन्ध्या पुरस्कार तथा गोकुल साहित्य पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो । आज विमोचित घनश्याम ढकाल स्मृतिग्रन्थ ६७२ पेजको रहेको र यसमा विभिन्न ९३ विद्वानका ९५ वटा रचना समावेश छन् । विभन्न चार खण्डमा विभाजित सो ग्रन्थमा जीवनवृत्त, लेखकका संस्मरण तथा ३९ वटा समालोचना छन् ।

सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले नेपालमा गणतन्त्र स्थापना भइसकेको भए पनि नेपाली जनताको जीवनस्तरमा अझै कुनै परिवर्तन नआएकाले क्रान्ति अपरिहार्य भएको बताए। उनले माक्र्सवादी दर्शनमा आस्था राख्ने प्रगतिवादी साहित्य आन्दोलनका धरोहर स्वर्गीय ढकालको राज्यबाट सम्मान हुनुपर्ने बताए । उनले नेपालमा जनयुद्धको प्रक्रिया शुरु भएदेखि नै आफ्नो सानिध्य ढकालसँग रहेको र जनयुद्ध र सामाजिक परिवर्तनमा ढकालको योगदान अविष्मरणीय रहेको चर्चा गरेका छन् ।

सो पार्टीका नेता एवं वरिष्ठ साहित्यकार आहुतीले नेपालमा सामन्तवादका नाइके राजसंस्थाको अन्त्य भइसके पनि सामान्तवाद तथा साम्राज्यवादको अझै चुनौतीको बताए । उनले अब कम्युनिष्ट पार्टीलाई प्रगतिशील विचारसहित कसरी अगाडि बढाउने भन्ने विषयमा नयाँ ढङ्गले बहस गर्नुपर्ने खाँचो औँल्याए ।

घनश्याम ढकाल स्मृति सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नीनु चापागाईंले नेपालमा सामाजिक परिवर्तनका लागि अझै कम्युनिष्टले जनता जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो