राजनीति

अध्यक्षद्वय राणा र डा लेहनीको दाबीः अब राप्रपा कहिल्यै फुट्दैन

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् । चितवनको भरतपुरमा आज आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहोनीले पाटीए विभाजन नहुने प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताए । “हामी देशव्यापी पार्टी एकीकरणको अभियानमा छौँ”, उनले भने, “थप नेता र समूहलाई राप्रपामा (संयुक्त) मा ल्याउने तयारी गरेका छौँ ।” राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने तयारीस्वरुप देशव्यापी रुपमा पार्टी सुदृढीकरणको अभियानमा लागेको उनले बताए । असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको सङ्गठन सुढृद गरेपछि जनताको सहयोगबाटै आफ्नो विचार र मान्यता स्थापित गर्ने उनको भनाइ थियो । देशको संविधानमा प्रतिबद्ध रहेको र कार्यान्वयनमा सरकारलाई सघाउने राणाले बताए । विसं २०४७ पछिको सबैभन्दा बलियो सरकारले जनताको पक्षमा काम गर्न नसकेको उनको आरोप थियो ।

अर्का अध्यक्ष डा लोहनीले पार्टीभित्रको कलहका कारण जनताले मत नदिएको बताए । पार्टी एक भए सधैँ जनताको विश्वास जित्न सकिने उनको भनाइ थियो । “विचार मिल्नेसँग एकता गर्ने हो”, उनले भने, “जनताको शक्ति आर्जन गरेर परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।” संविधनले दिएको संविधान संशोधन गर्ने अधिकार टेकेर राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गरिने उनले बताए । “कम्युनिष्ट सरकारले सुशासन दिन्छ भन्ने आशा थियो, तर सरकार कुशासनतर्फ उन्मुख छ । यसलाई नियन्त्रण गर्न जनताको हितमा हामी सक्रिय भएर लाग्नेछौँ”, डा लोहनीले भने ।

पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको इसारामा पार्टी पटक–पटक विभाजन हुँदा गलत व्याक्तिले फाइदा लिएको बताए । उनले जनता र राष्ट्रका हितमा काम गर्न पार्टी एकीकरण गरेको बताए । महामन्त्री सुनिलबहादुर थापाले नीति र सिद्धान्तमा चुकेका कारण जनताले पार्टीलाई विश्वास नगरेको बताए। पार्टी एकता सुनौलो अवसर भएकाले उनले यसलाई जनतासम्म लैजानुपर्नेमा जोड दिए ।