आर्थिक

मधेशको विकास गर्न तीन अर्ब ५२ करोडको बजेट, छिट्टै गरिवी अन्त्य हुन्छः प्रधानमन्त्री

गरूडा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अब हरेक घरलाई एक्काइसौँ शताब्दीको दृष्टिअनुसार विकास गर्नुपर्ने खाँचो औँल्याएका छन् । रौतहट जिल्लाको गरूडामा आज नेकपाद्वारा आयोजित प्रदेश नं २ स्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हरेक घरलाई एक्काइसौँ दृष्टिले विकास गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को गन्तव्य निहित गराइने बताए ।

तराई मधेशको विकास गर्न सरकारले रु तीन अर्ब ५२ करोडको विशेष परियोजनाको कार्यान्वयनको कार्य गरिरहेको चर्चा गर्दै उनले प्रदेश नं २ लाई विभेद, पछोटेपन र असमानताबाट मुक्त गर्न सडक र हवाईमार्ग, वन, शिक्षा, कृषि, सिँचाइ विकास वातावरण संरक्षण र गरीबी निवारणको परियोजना कार्यान्वयनको तयारी भइरहेको छ भने ।

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग निर्माणको कार्य अर्को निर्वाचनसम्म पूरा गर्न बजेट छुट्याउने कार्य सम्पन्न भइसकेकाले चन्द्रनिगाहपुर–गौरसम्म ४ लाइनको पक्की सडक, गरूडा नगरपालिकामा खानेपानी र चक्रपथ निर्माणको सर्वे र अध्ययन भइरहेको बताए । उनले कृषिको आधुनिकीकरण, कृषि बजार, किसानलाई सस्तो ऋण प्रदान, शीत भण्डारण निर्माणलगायत कार्यलाई सरकारले तदारूकताका साथ अघि बढाइरहेको प्रसङ्ग उल्लेख गर्नुभयो । वीरगञ्ज–पथलैया, कलैया, धनुषा, चोहर्वा–सिरहा, ढल्केवर–जनकपुरधाम, जनकपुरधाम–जटही, जनकपुधाम–भिठ्ठामोड लगायतका विभिन्न सडकलाई ६ देखि ४ लाइनसम्म विस्तार गर्ने, निजगढ विमानस्थल र फास्ट ट्रयाकको कार्य शीध्र हुने, सुनकोशी मरिन, सुनकोशी कमला डाइभर्सन, मदन भण्डारी लोकमार्ग, विद्युतीय रेल, जनकपुरधामबाट रातिमा हवाई जहाज सेवाजस्ता कार्य छिट्टै प्रारम्भ हुने उनले जानकारी दिए ।

प्रदेश नंं २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले सङ्घीय सरकारले यस प्रदेशमा साक्षरता तथा विद्यालय भर्ना अभियान आफैले प्रारम्भ गरेकोमा खुशी व्यक्त गरे । उनले शिक्षालाई गुणस्तरीय बनाउने, रोजगारीमूलक प्राविधिक शिक्षा कार्यमा सबैको अग्रसरतामाथि जोड दिए । आधारहीन राजनीतिको केही अर्थ छैन भन्दै प्रधानमन्त्री ओलीले विखण्डनको पक्षमा रहेका सीके राउत पनि संविधानलाई स्वीकार गरी, राष्ट्र मूलधारको राजनीतिमा आइ सकेकाले अब देशलाई समृद्ध गन्तब्यतर्फ लैजानमा सबैको सहयोग आवश्यक छ भने ।

आफूले भारतका प्रधानमन्त्रीलाई भारतले बनाएका बाँधका कारण नेपालको जमीन डुबानमा पर्ने गरेको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उनले भारतलाई डुबान खोल्नु पर्छ भनी आग्रह गरेको र त्यसको निकट भविष्यमा नै सर्वे कार्यको तयारी भइरहेको बताए । वर्तमान सरकार कसैप्रति वैरभाव, दमन गर्ने नीति नलिएको स्पष्ट गर्दै उनले विपन्नताको अन्त्यसँगै प्रदेश नंं २ लाई मुहार फेर्ने विकासमूलक परियोजना प्रारम्भ गर्ने पक्षमा रहेको बताए ।

अब राजनीति साम्प्रदायिकता, भूगोल–भूगोलका लागि गर्ने समय नभएको प्रसङ्ग उल्लेख गर्दै उनले कम्युनिष्टको एकता मोटाउनका लागि नभई देशमा नमूना विकास लागि भएको छ भने । पार्टी एकता प्रक्रियाको टुङ्गो छिट्टै हुने बताउदै उनले एकताको बारेमा संशय नगर्न आग्रह पनि गरे । गरीबी र अज्ञानताका कारण कुरीतिले मौलाउने अवसर पाएको चर्चा गर्दै प्रधानमन्त्रीले दुनियाँमा कोही पनि बोक्सी छैन भने ।
कार्यक्रमलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘लगायतका नेताहरुले सम्बोधन गरेका थिए।