अन्तर्राष्ट्रिय

ट्रम्पले गरे आँधी प्रभावित क्षेत्रको निरीक्षण

अलाबामा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गरेका छन् । शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो ।

गत आइतबारको आँधीले ग्रामीण क्षेत्रका घरहरु भत्काएको, रुखहरु ढालेको तथा दुई दर्जनजति स्थानीयबासीको मृत्यु भएको थियो । आँधीबाट खासगरी बेउरगार्ड इलाका सर्वाधिक प्रभावित भएको छ । उक्त इलाकामा कुनै पनि घर दुरुस्त अवस्थामा छैनन् भने घरभित्रका सामान जताततै छरपस्ट देखिएका छन् ।

राष्ट्रपति ट्रम्पले आँधीले पु¥याएको क्षति अविश्वसनीय रहेको बताए । राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्पले पीडितहरु, उनीहरुका परिवार र स्वयंसेवीसँग भेटघाट गरेका थिए।आँधीबाट २३ जनाको मृत्यु भएको थियो जसमा चार जना बालबालिका र दुई जना ८० वर्षको हाराहारीका वृद्ध थिए ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीयाले उक्त क्षेत्रमा हेलिकप्टरबाट पनि निरीक्षण गरेका थिए । उनीहरुले चर्चमा पुगी त्यहाँ सञ्चालित विपद उद्धार केन्द्रमा आश्रय लिइरहेका मानिसहरुसँग भेटघाट गरेका थिए ।