प्रदेश 1

स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बजारलाई व्यवस्थित

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारलाई व्यवस्थित गर्न थालिएको छ । लामो समयदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको उक्त बजारको होटल तथा पसललाई व्यवस्थित गर्न लागिएको हो ।

केपिलासगढी गाउँपालिका–४ स्थित प्राङ्गारिक कृषि उपज खरीद तथा बिक्री हुने उक्त बजार व्यवस्थित गर्न प्रदेशसभा सदस्य राजन राईको पहलमा प्रदेश नं १ सरकारबाट रु एक करोड बजेट विनियोजन भएको छ ।  अहिले २७३ छाप्रे होटल तथा पसल सञ्चालन हुँदै आएकामा उक्त छाप्रो हटाएर १७५ स्टिल ट्रष्ट निर्माण गर्ने तयारी गरिएको हो । हरेक बुधबार हाट लाग्ने उक्त बजारमा सात फिट लम्बाइ र दश फिट चौडाइको आधुनिक स्टिल ट्रष्ट निर्माण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष सुमन गुरुङले बताए ।

आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण उपभोक्ता समितिसँग सम्झौता गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए । “बाक्सिलाबजार उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र हो ।” उनले भने, “पछिल्लो समय उपभोक्ता तथा व्यापारीको चाप बढ्दै गएपछि यसलाई व्यवस्थित गर्न पहल थालिएको छ । यसले गाउँपालिकाको स्रोत वृद्धिमा समेत सघाउ पुग्नेछ ।” करीब आठ रोपनी क्षेत्रफल जग्गा ओगटेको बाक्सिलाबजारमा खानेपानीको दुई धारा, सुधारिएको बधशाला, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै चार सार्वजनिक शौचालय, बिजुलीबत्तीलगायत सुविधा उपलब्ध गराइने तयारी छ । बजार क्षेत्रमा उत्पादन हुने फोहर व्यवस्थापन तथा ढल निकासको कामसमेत यसै वर्ष गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाउँपालिकाको केन्द्रसमेत सोही ठाउँमा स्थापना भएपछि पछिल्लो समय बाक्सिलाबजारमा उपभोक्ता तथा व्यापारीको चाप वृद्धि हुँदै गएको स्थानीयवासी एवं युवानेता पवन श्रेष्ठले बताए । पुरानो संरचना मात्रै रहेको ऐतिहासिकस्थल बाक्सिलाबजारमा उपभोक्ता तथा व्यापारीको चाप बढेपछि विशेषगरी खानेपानी तथा शौचालयको अभाव देखिएको स्थानीयवासी दीपक गुरुङ्को भनाइ थियो । बाक्सिलाबजारमा प्राङ्गारिक कृषि उपज जस्तैः मकै, कोदो, दाल तथा चामल, गुन्द्रुक, सागसब्जी, फलफूल, असला माछा, कुखुराको भाले, सुँगुरको पाठालगायत खरीद तथा बिक्री हुने गरेको छ । घरायसी औजारमा कोक्रो तथा थुम्से, डोको÷नाम्लो, नाङ्लो÷डालो, भकारी, चित्रालगायत खरीद तथा बिक्री हुने गरेको छ ।

बाक्सिलाबजारमा पाइने कृषि उपज तथा सामग्री खरीद गर्न खोटाङका अधिकांश स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुर, ओखलढुङ्गा र सोलुखुम्बुका उपभोक्तासमेत आउने गरेका छन् । उक्त बजारमा अन्य बजारमा पाइनेभन्दा प्राङ्गारिक तरकारीका साथै र सुपथ मूल्यमा कृषिउपज तथा घरायसी सामग्री पाइने भएपछि टाढाटाढाका उपभोक्तासमेत बाक्सिलाबजार आउने गरेको स्थानीयवासीले बताए । पर्यटकीयस्थल बाक्सिलाबजारमा गाउँपालिकाको केन्द्र स्थापना भएसँगै सुविधासम्पन्न होटल तथा पसलसमेत स्थापना हुन थालेको छ । पर्वतीय पर्यटनको राम्रो सम्भावना रहेको त्यहाँ गाउँपालिकाको कार्यालय स्थापना भएसँगै बैंक तथा वित्तीय संस्थासमेत खुल्न थालेको छ ।

उक्त बजारमा एक दिन मात्र लाग्ने हाटमा दिक्तेलबजारबाट सामग्री लगेर व्यवसाय गर्ने व्यापारीको सङ्ख्या पनि वृद्धि हुँदै गएको बजार व्यवस्थापन समितिले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट जाने अधिकांश व्यापारीले लत्ताकपडा तथा खुद्रा सामग्रीको व्यापार गर्दै आएका छन् । पछिल्लो समय बाक्सिलाबजार तथा गाउँपालिकाको केन्द्रसम्म सडक निर्माण गरेर यातायातसमेत सञ्चालनमा आएपछि आसपासका बासिन्दा नगदेबाली लगाउनाका साथै आर्यआर्जनका काममा व्यस्त हुन थालेका छन् । आफूले उत्पादन गरेको कृषि उपज सहजै बिक्री हुने भएपछि उनीहरु नगदेबादीतर्फ आकर्षित भएका हुन् ।

उक्त बजारको बीच भागमा बुद्धको सालिक छ । हिमाली शृङ्खला तथा उच्चपहाडी भूभाग अवलोकन गर्न सकिने बाक्सिलाबजारको स्तरोन्नति हुने भएपछि स्थानीयवासी हर्षित छन् ।