गण्डकी प्रदेश

घरबास व्यवस्थापन समितिले अनुदान

दमौली । तनहुँका ३० सामुदायिक घरबास व्यवस्थापन समितिले अनुदानका लागि डिभिजन वन कार्यालयसँग सम्झौता गरेका छन् ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरबासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकोमा छनोट भएका ३३ मध्ये ३० ले कार्यालयसँग सम्झौता गरेका हुन् ।
कार्यालयका निमित्त डिभिजन वन अधिकृत बाबुराम उप्रेतीले अनुदानका लागि बाँकी रहेका घरबास व्यवस्थापन समितिलाई समेत सम्झौता गर्न आउन पत्राचार गरिएको जानकारी दिए । उनले भने, “अहिलेसम्म ३० घरबासका प्रतिनिधिले कार्यालयमा आएर सम्झौता गरेका छन् । बाँकीलाई समेत सम्झौता गर्न आउन पत्राचार गरिसकिएको छ ।”

उनले सम्झौतापछि पहिलो किस्ताका रुपमा ४० प्रतिशत अर्थात रु चार लाख समितिको खातामा हाल्ने व्यवस्था कार्यविधिमा रहेको उल्लेख गरे । सरकारले घरबास सञ्चालन गर्न अनुदान दिने रु १० लाखको १० प्रतिशत अर्थात रु एक लाख सम्बन्धित गाउँपालिका वा घरबास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । तनहुँका ४३ घरबासले अनुदानका लागि प्रस्ताव पेश गरेकोमा ३३ छनोट भएका थिए ।