राजनीति

नेपाल विखण्डनको चाहना राख्नेलाई कडा चोट : महासचिव पौडेल

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन् ।

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए । “राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ”, उनले भने, “अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ । ”

महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए । उनले भने, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन् ।”

‘छुटै मधेश’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारी दिए । “नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन”, उनले भने,“सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ ।”

कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा केन्द्रीय सरकारले शुरु गरेका योजना पूरा गर्न बजेट समस्या रहेकाले पहल गरिदिन महासचिव पौडेललाई आग्रह गरे ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केन्द्रीय सरकारका कारण भूमिनीति अल्मलिएकाले तत्काल कार्यान्यवन गर्न जरुरी रहेको धारणा राखे । सुन्दरनगर खानेपानी उपभाक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष वीरमान लामा र वरिष्ठ सल्लाहकार बलराम न्यौपानेले सुन्दरनगरवासीको सुकुम्वासी समस्या साझा भएकाले यसको छिटो समाधानका लागि पहल गरिदिन महासचिव पौडेललाई अनुरोध गरे ।