प्रदेश 2

माध्यमिकी परिक्रमाका यात्री महोत्तरी प्रवेश

बर्दिवास । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज शनिबार महोत्तरी प्रवेश गरेका छन् । माध्यमिकी यात्राको चौथो दिन यात्री भारतको मधुवनी जिल्लामा पर्ने गिरिजास्थान (फुलहर)बाट मटिहानी पुग्ने क्रम आज बिहानैदेखि शुरु भएको हो ।

नेपाल– भारत सीमाको दशगजा हुँदै फुलहरबाट मटिहानीतर्फ आएका यात्रीलाई मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल, जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारी र लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास वैष्णव र मटिहानी नगरवासीले स्वागत गरेका थिए । मिथिला बिहारी (श्रीराम) र किशोरी (सीता) को प्रतिमा राखिएका डोला अघि लगाएर आएका साधुसन्तसहितका यात्री आज यात्राको चौथो दिन मटिहानीमा विश्राम गर्ने र तिनका लागि भोजन, प्राथमिक उपचार र अन्य सबै आवश्यकता पूरा गरिने नगरप्रमुख मण्डलले बताए ।

ती यात्री पाँच रात महोत्तरीमा बिताउनेछन् । यात्राको चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन बिताएपछि परिक्रमामा सहभागीको लावालस्कर धनुषा जिल्ला प्रवेश गर्नेछ । यसअघि गत बुधबार शुरु भएको माध्यमिकी परिक्रमाका यात्रीले पहिलो दिन धनुषाको हनुमाननगर र दोस्रो एवं तेस्रो दिन भारतको मधुवनी जिल्लास्थित कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर) मा रात बिताएर आज मटिहानी आइपुगेका हुन् ।मोक्ष मिल्ने लक्ष्यका साथ एकछाक सात्विक भोजन खाएर नाङ्गा खुट्टाले यो यात्रा गरिने महन्थ बैष्णवको भनाइ थियो ।