समाचार

अमेरिकी डलरसहित ४२ वर्षीय नकर्मी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले अवैधरुपमा १०० दरको १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका नकर्मीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खुस्थित ग्रिन गार्डेन फ्यामिली रेष्टुरेंन्टमा जुवातास खेल्ने पाँचजनालाई शुक्रबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र रु ३७ हजार ५०५ बरामद गरेको छ ।