सुदूरपश्चिम

स्वास्थ्यका दुई दर्जन भवन बन्दै

बैतडी । जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिव दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट सुरक्षित प्रसूति सेवा केन्द्रका भवन निर्माण गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए । त्यसका लागि रु २० लाखका दरले बजेट विनियोजन भए पनि भवन निर्माण कार्यविधि भने अझै आइपुगेको छैन ।
चालू आर्थिक वर्षमा दशरथचन्द नगरपालिको वडा नं १० स्थित रातामाटामा, वडा नं ५ को करकटट्यामा, पाटन नगरपालिकाको वडा नं १ पदमपुरमा, सुर्नया गाउँपालिका ३ को बिजुलमा, शिवनाथ गाउँपालिका २ को पोखर र वडा नं ३ को बछलामा, दोगडाकेदार गाउँपालिकाको वडा नं १ गोरङ, वडा नं २ को कफलकोट र वडा नं ७ को चडेपानीमा ती केन्द्र निर्माण गरिने भएको हो ।

यसैगरी डिलाशैनी गाउँपालिका वडा नं ६ को गोकुलेश्वरमा वडा नं ७ को धामीगाउँमा, पुरचौँडी नगरपालिका वडा नं ४ को सिबाबोमा, पञ्चेश्वर गाउँपालिका वडा नं २ र सिगास गाउँपालिकाको वडा नं ७ न्वाघरमा पनि उक्त केन्द्र निर्माण गरिने भएको छ ।

यस्तै चालू आर्थिक वर्षमै तीन सामुदायिक स्वास्थ्य एकाइ निर्माण हुनेछन् । सुर्नया गाउँपालिका वडा नं ४, डिलाशैनी–५ नगराउँ र पञ्चेश्वर–४ निङलाडमा सामुदायिक स्वास्थ्य एकाइका भवन निर्माण हुने उक्त कार्यालयले जनाएको छ । सामुदायिक स्वास्थ्य एकाइका लागि रु १५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।

यसैगरी दशरथचन्द नगरपालिका–१ सौडेखोला र पाटन नगरपालिका ज्यापुमा शहरी स्वास्थ्य क्लिनिक भवन पनि निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । डिलाशैनी गाउँपालिका–१ र सिगास गाउँपालिका वडा नं ३ मा स्वास्थ्यचौकी भवन निर्माण चालू आर्थिक वर्षमै शुरु हुने बताइएको छ । स्वास्थ्य एकाइ नहुँदा यहाँका बासिन्दा उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य कार्यालयमै आउनुपर्ने बाध्यता छ । देश सङ्घीय संरचनामा गइसकेपछि पनि जिल्लाका विभिन्न वडा स्वास्थ्य एकाइ बनेका छैनन् ।