आर्थिक

प्रहरीलाई पूर्वाधार तथा प्रविधिमैत्री बनाइने

फिदिम । प्रदेश नं १ मा नेपाल प्रहरीलाई पूर्वाधारयुक्त तथा प्रविधिमैत्री बनाइने भएको छ । भौतिक पूर्वाधार र प्रविधिको अभावमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई चुनौती रहेकाले प्रदेश सरकारले चालू आर्थिक वर्षमा पूर्वाधार विकास, सूचना सञ्चार र प्रविधिका लागि बजेट छुट्ट्याएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री आङ्बोले प्रहरीको मनोबल उच्च बनाउन प्रदेश सरकारले पर्र्याप्त बजेट छुट्ट्याउँदै जाने बताए।

उनले प्रदेश प्रहरीको भवन र थप पूर्वाधारका लागि रु २९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

पाँचथरमा जिल्ला प्रहरी कार्यालयभित्र महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनका लागि रु एक करोड इलाका प्रहरी कार्यालय अमरपुर र खान्द्रुङ तथा प्रहरीचौकी फाक्तेपको भवन निर्माणका लागि रु तीन÷तीन करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रहरीलाई पूर्वाधारयुक्त र प्रविधिमैत्री बनाउन प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालयका लागि एउटा चारपाङ्ग्रे सवारी साधन तथा पाँचथरका विभिन्न प्रहरीचौकीका लागि १२ वटा मोटरसाइकल समेत प्रदान गरेको मन्त्री आङ्बोले बताए । प्रदेशका सबै प्रहरीचौकी तथा पोष्टका लागि स्थायी मोबाइल सेट र सिमकार्डसमेत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।

फरक प्रसङ्गमा मन्त्री आङ्बोले राजनीतिक रुपमा असन्तुष्ट पक्षलाई समेत संवादका माध्यमबाट मूल राजनीतिक प्रवाह आउन अपिल गरे ।

प्रमुख जिल्ला अधिकारी मुरारी बस्तीले पूर्वाधारको अभावमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई समस्या रहेको बताए । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रनाउ नरेन्द्र कुँवर समयमै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।