अन्तर्राष्ट्रिय

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ घाइते

गाजा । इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् ।

शुक्रबार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुले गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको छ । गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल क्वेद्राले जानकारी दिए।

उनले इजरायली सुरक्षाकर्मीको गोली लागेर घाइते भएका ४२ जनामध्ये दुई जना महिला, १५ जना बालबालिका, चार जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि रहेको बताए ।

इजरायल–गाजा सीमा क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि हरेक सप्ताहान्तमा प्रदर्शन र झडप हुँदै आएका छन् ।