समाचार

प्रहरी चौकी भवन उद्घाटन

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ चौघडामा नवनिर्मित इलाका प्रहरी चौकी भवनको प्रदेश नं ३ का प्रहरी नायब महानिरीक्षक दीपक थापाले शुक्रबार उद्घाटन गरेका छन् ।

नेपाल सरकारको रु एक करोड १७ लाख ६५ हजारको लागतमा दश कोठा सो भवन बनेको हो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक थापाले प्रदेशका नागरिकको मानवअधिकार प्रत्याभूति र शान्ति सुरक्षाको लागि प्रहरी जनशक्ति क्रियाशील छ भने ।

उनले प्रहरी जनशक्तिले अपराध अनुसन्धानको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिको प्रयोग गर्ने बताउदैँ प्रहरी र जनताबीच सम्बन्ध सुमधुर कायम गर्न जनचेतना कार्यक्रम ल्याउन लागेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंंह तथा वडा नं ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंले प्रहरी र जनताबीचको सहकार्यबाट अपराध नियन्त्रण गर्न मद्दत पुग्ने बताए।