लुम्बिनी

घरमा हुने सुत्केरी शून्य बनाउने अभियानको थालनी

रोल्पा । रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ ।

लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको थालनी गरेको हो । अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ । अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य सहायक दामोदर सुवेदीले जानकारी दिए। आर्थिक वर्ष ०७०÷०७१ मा सो वडाका पाँच जनाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति गराएकोमा आर्थिक वर्ष ०७४÷०७५ मा सो सङ्ख्या ८६ र चालू आवको हालसम्म ९७ पुगेको सुवेदीले जानकारी दिए । घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेका उनको भनाइ थियो ।

अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लबलगायतले सहयोग गर्ने अपेक्षा गरेको वडाध्यक्ष मति पुनले बताए ।