समाचार

निर्माणको नेतृत्वमा महिला

बेझाड । रामपुर नगरपालिका–४ बाङ्गेपसल बस्ने ४२ वर्षीय सुमनखाम्चा मगर महिला भएर पनि निर्माण व्यवसाय क्षेत्रमा सक्रिय छन् । उनले आफ्नो जीवनको दुई दशक भने मजदूरी गरेर बिताएकी थिइन् ।

शुरुमा बालुवा चाल्ने, इँटा बोक्ने, सिमेन्ट घोल्ने, घरको गारो लगाउने काम गर्नुभएकी मगरले अहिले आफैँ घर, भवन ठेक्कामा लिएर काम गर्छीन् । उनी विगत पाँच वर्षदेखि रामपुर नगरपालिका क्षेत्रमा आफ्नै नेतृत्वमा घर भवन ठेक्कामा लिएर काम गर्ने महिला निर्माण व्यवसायी हुन् । श्रीमान् देवबहादुर खाम्चा मगरसँगै मजदूरी गर्दै आउनुभएका मगरले पुरुषले जस्तै व्यवसायी भएर काम गर्ने रामपुर क्षेत्रकै एकमात्र महिला निर्माण व्यवसायी हुन्। उनले हालसम्म २० भन्दा बढी घर आफ्नै नेतृत्वमा सम्पन्न गरिसकेकी छन्।

विभिन्न सङ्घ संस्थाबाट भवन निर्माणसम्बन्धी तालीम लिएपछि काममा सहज भएको उनको भनाइ थियो । यही काम गरेर एक छोरीलाई काठमाडौँमा कम्प्युटर इञ्जिनीयर पढाएकी छन् । यही कामबाट वर्षमा रु सात लाखसम्म कमाइ हुने गरेको उनले बताइन् ।

“महिलाले आफैँलाई कमजोर बनाएकाले पछाडि परिरहेका हुन्, दुई हातखुट्टा मज्जाले चलेकै छन्, पुरुषसरह नै ठूला ठूला घर, भवन निर्माण कार्यमा म आफैँले नेतृत्व लिएर काम गरिरहेको छु”, उनले भनीन् । यसरी काम गर्न थालेपछि उनलाई अर्काको भर पर्नु परेको छैन । “घरखर्चबाट बाँकी रकम वचत गर्छु, आफूमा जाँगर छ भने काम सानो र ठूलो हुँदैन”, मगरको भनाइ छ ।

मगर रामपुर नगरपालिका–५ स्थित राङभाङमा दश पुरुष मजदूरलाई आफ्नो मातहतमा राखेर घर बनाउने कार्यमा अहिले व्यस्त छिन् । मगरका श्रीमान् श्रीमती दुवैले छुट्टाछुट्टै घर भवन ठेक्का लिएर काम गरिराख्नुभएको छ । “महिला भनेर पछाडि हट्यो भने समाजले सधैँ पछाडि पारिरहेको हुन्छ, मसँगै घर भवन बनाउने काममा श्रीमती लिएर हिँडे, उनले विस्तारै काम सिक्दै जाँदा काम राम्रोसँग सिकिन्, अहिले आफैँले नेतृत्व गरिरहेकी छिन्”, मगरका श्रीमान् देवबहादुरले भने।

रामपुर नगरपालिका क्षेत्रमा करीब दुई हजार ५०० को हाराहारीमा घर, भवन निर्माण कार्यमा मजदूर कार्यरत छन् । पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिमा एक हजारभन्दा बढी मजदूर आबद्ध रहेकामा त्यसमध्ये ६० जना महिला मजदूर कार्यरत रहेको समितिका महासचिव निलकण्ठ भण्डारीले बताए ।

यस क्षेत्रमा कार्यरत महिला मजदूरले घर, भवन बनाउने काममा मजदूरी गरेर छोराछारीको पढाइ, घरखर्च चलाउँदै आएको उनले बताइन् । महिलाले पनि पुरुषसरह नै मिस्त्री काम गरेर जीविकोपार्जन गरिरहेका छन् । शहरोन्मुख क्षेत्रमा अगाडि बढेको रामपुर नगरपालिकामा पछिल्लो समय बस्ती बढ्न थालेपछि धेरैलाई रोजगारीको अवसर मिलेको छ ।