कृषि

कृषिबाट आत्मनिर्भर बन्दै किसान

गलेश्वर । तरकारी, फलफूलसहितका व्यावसायिक खेती गरेर यहाँका किसान कृषिबाट नै आत्मनिर्भर बन्दै गएका छन् ।

चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न गाउँका तीन हजारभन्दा बढी जनता विभिन्न बाली, व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकको जिल्ला भनेर आफ्नो परिचय दिएको छ । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको जिल्लामा ३० हजार ८५६ हेक्टर जमीन खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुपमा कृषिमा आश्रित रहेको भए पनि अधिकांशले व्यावसायिकरुपमा उत्पादन गर्न सकेका छैनन् । करीब सात प्रतिशत जनताले व्यावसायिकरुपमा नै कृषि पेसा अङ्गालेर राम्रै कमाइ गर्न सफल भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गलाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहू, धौलागिरिको ताकम, मालिकाको बीम, दरबाङ, ओखरबोट, रघुगङ्गाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगालगायतका गाउँका कतिपय जनता कृषिबाट नै आत्मनिर्भर बन्दै गएका छन् । उनीहरुले विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएका त्यस क्षेत्रका जनप्रतिनिधिको भनाइ रहेको छ ।

ती गाउँमा व्यावसायिकरुपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोलभेँडा, साग, लहरे प्रजातिका तरकारी बढी उत्पादन हुने गरेको छ । जिल्लाका दोसल्ले, बरङ्जा, विम, भकिम्ली, राखु, बास्कुनालगायतका गाउँमा सुन्तला बेचेर नै वार्षिकरुपमा रु पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

त्यसैगरी बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष रु ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक रु ४७ करोड भन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

बेनी नगरपालिका–२ खबराका कृषक शोभित सापकोटाले कृषि आफ्नो लागि वरदान सावित भएको बताए। छ वर्ष अघि के खाउँ र के लाउँको अवस्थामा रहेका सापकोटा अहिले कृषिबाट नै रु एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएका छन् । त्यसैगरी बास्कुनाका तिलक गुरुङ, खबराका चन्द्रवहादुर कार्की, दोसल्लेकी सुनमाया पुन, अर्मनकी टीकाकुमारी सापकोटालगायतका कृषकले व्यावसायिक कृषिबाट नै राम्रै आम्दानी गर्न सफल भइ्एका छन् ।