समाचार

“योगमाया महिलाको पक्षमा जीवन आहूति गर्ने सशक्त महिला थिईन्”,

बनियानी । नेपालमा संस्थागत महिला आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने क्रान्तिकारी महिला नेत्री योगमाया न्यौपानेको शालिक आज झापाको कनकाई नगरपालिकामा अनावरण गरिएको छ ।

एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कनकाई–३ मा निर्मित योगमायाको अर्धकदको शालिक झापा क्षेत्र नं २ का सांसद पवित्रा खरेलले अनावरण गरेकी हुन्। सांसद खरेलले ७७ वर्ष पहिले महिला मुक्तिका लागि योगमायाले थालेको आन्दोलनबाट महिला मुक्ति र समानताका लागि देशमा अवसर प्राप्त भएको बताईन् । शालिक निर्माणमा कनकाई नगरपालिकाले रु १८ लाख, कनकाई सामुदायिक वनले रु ५१ हजार र स्थानीयवासी तुलाराज बस्नेतले रु ५० हजार सहयोग गरेको योगमाया शालिक निर्माण समितिका अध्यक्ष शर्मिला कुँवरले जानकारी दिए । अर्धकदको शालिक ११ फिट अग्लो छ ।

नेत्री योगमायाले राणा शासनताका महिला हकअधिकारका पक्षमा सङ्घर्ष गरेको कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले बताईन् । आन्दोलनका क्रममा १९९८ सालमा योगमायाको नेतृत्वमा ६८ महिलाले अरुण नदीमा हाम फालेर जलसमाधि लिएको इतिहास रहेको उपप्रमुख प्रसाईंले बताईन् । “योगमाया महिलाको पक्षमा जीवन आहूति गर्ने सशक्त महिला थिईन्”, उनले भनिन् “उहाँको योगदानको सम्मान र सम्झनाका लागि शालिक निर्माण गरिएको हो ।”

शालिक निर्माण गरिएको स्थानलाई ‘योगमाया चोक’ नामकरण गरिएको छ । कार्यक्रममा सांसद धर्मशीला चापागाईं, अम्बिका राजवंशी र सरिता प्रसाईंलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य हीरा थापा, पूर्वसांसद प्रेम गिरी, नगरप्रमुख राजेन्द्र पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।