समाचार

‘महिलाप्रति हुने सामाजिक विभेद अझै यथावत’ : सभामुख श्रेष्ठ

हेटौँडा । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले महिलाप्रति हुने सामाजिक विभेद अझै यथावत् नै रहेकाले त्यसप्रतिको सोच र दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा उनले महिलाको हक अधिकारका लागि सरकारी र गैरसरकारी संस्थाले हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।

सामाजिक विकासमन्त्री युवराज दुलालले महिलाको हकहित र अधिकारका लागि सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिलामाथिको भेदभाव र हिंसा रोक्न सरकारको प्रयास मात्रैले नपुग्ने भएकाले समाजका हरेक वर्गलाई सहयोग गर्न अनुरोधसमेत गरे । कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, बिभिन्न राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो ।

यसैबीच गैरसरकारी सङ्घ संस्थाअन्तर्गत मानवअधिकार संरक्षण तथा मानवअधिकार बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरले नारी दिवसका अवसरमा अन्तक्र्रिया तथा गीति नाटक कार्यक्रम आयोजना गरेको छ ।