खेलकुद

पूर्वकप्तान र रेफ्री सम्मानित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वकप्तान जमुना गुरुङ र रेफ्री बीना श्रेष्ठलाई आज सम्मान गरेको छ ।

एन्फाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज एन्फा कम्प्लेक्समा कार्यक्रमका आयोजना गरी पूर्वकप्तान जमुना र रेफ्री बीनालाई सम्मान कदर पत्रसहित प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महिला कमिटीका अध्यक्ष वृन्दा देवान लगायतले सम्मान गरेका थिए । नेपाली महिला फुटबलमा सफल खेलाडी मानिने जमुनाले सन् २०१० को साफ च्याम्पियनसिपपछि सन्यास लिएकी थिइन् । नेपाली महिला रेफ्रीको परिचय बनाएकी बीना सन् २०१० बाट फिफा एसिस्टेन्ट रेफ्री रहेकी छिन् ।

कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले खेलाडीलाई खुराक र अनुशासन धेरै महत्व रहेको बताउँदै एक दिनमात्र नभएर ३६५ दिनै नारी दिवस मनाउनुपर्ने धारणा राखे। कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले आमाबिनाको जीवन कल्पना गर्न नसकिने बताउँदै अबका दिनमा महिलालाई पनि वर्षको उत्कृष्ट खेलाडीबाट सम्मान गरिने प्रतिबद्धता व्यक्त गरिन् ।