समाचार

नयाँ लगानीकर्ता तालीम लिएर बजारमा प्रवेश

खस्यौली । शेयर बजारको ‘हब’ का रुपमा स्थापित रुपन्देहीको बुटवलमा लगानीकर्ताले परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् ।

शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ, नाफा, नोक्सान बुझेर लगानीकर्ता शेयर बजारमा आकर्षित हुन थालेको सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले जानकारी दिए ।

उनले व्यवस्थापन सङ्कायको स्नातक तहका विद्यार्थी, शिक्षक, गृहणी, व्यापारी र व्यवसायीलगायत छ महीनाको अवधिमा १०० नयाँ लगानीकर्ताले बुटवलका दलाल (ब्रोकर) कार्यालयमार्फत शेयर बजारमा लगानी गरिरहेको बताए । उनीहरुले रु एक लाखदेखि रु २० लाखसम्म लगानी गरेका छन् । “नयाँ लगानीकर्ता केही तालीम लिएर बजारमा प्रवेश गरेका छन् भने केही परामर्श लिएरमात्रै पनि शेयर बजारमा लगानी गरिरहेका छन्” अध्यक्ष तिवारीले भने, “विगतका सयममा लगानीकर्ताले हल्लाका आधार र नबुझेर लगानी गर्दा शेयर बजारमा जोखिमको सामना गर्नुपर्ने बाधात्मक अवस्था रहेको थियो ।

“अहिले पूर्ण स्वचालित अनलाइन प्रणालीको शुरुआतले पनि दिगो लगानी गरेर नयाँ लगानीकर्ताले फाइदा लिन खोजेको देखिन्छ”, उनले भने । शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताइएको छ ।  यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि थोरै अङ्कको तलमाथि हुने बताइएको छ । यस अवस्थामा बजारले करीब न्यूनतम केही महीनादेखि अधिकतम एक वर्षसम्मको समय लिन्छ । खासगरी पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफसिजन’ मानिन्छ । अबको एक महीनापछि बजार ‘बुलिस’ चरणमा हुने आँकलन गरिएको छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको छ ।

तिलोत्तमा–८ का मुकुन्द चालिसेले साना लगानीकर्ताले अहिले पनि शेयर बजार बुझेर लगानी नगरेको बताए । उनले शेयर बजारको सेकेन्डरी मार्केटमा बुझेर लगानी गर्न आग्रह गर्दै लगानीकर्ता धेरै महत्वकांक्षी भएको बताए । विगत १० वर्षदेखि शेयर बजारमा अभ्यस्त हुनुभएका उनले शेयर बजारमा रु ३५ लाख लगानी गरेका छन् । “पहिले बुझेर लगानी गरेको होइन तर अहिले केही बुझिएको छ”, चालिसेले भने । बुटवलमा पाँच ब्रोकर कार्यालय छन् । यहाँका कार्यालयमार्फत शेयर खरीद तथा बिक्री गर्न दाङ, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका लगानीकर्ता आउने गर्छन् ।