बाग्मती

रकम फिर्ता नगरेका सहकारीलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारबाही गरी रु तीन करोड ११ लाख रकम असुल गरेको छ । कामपाको सहकारी विभागमा परेको उजुरीको आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरेको हो ।

कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्था भएअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो ।

अहिले कामपामा एक हजार ८५६ सहकारी संस्था छन् । यी सहकारीमध्ये धेरैले आफ्नो संस्थाको विवरण समेत बुझाएका छैनन् । तिनलाई पनि केही दिनभित्र विवरण पेश गर्न विभागले आग्रह गरेको छ । यसैबीच २५ वटा सहकारी संस्थालाई कानून बमोजिम वित्तीय विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ । कामपाअन्तर्गतका सहकारीमध्ये ४८० सहकारीले मात्र विवरण बुझाएका छन् ।

विभागले थप करीब रु। ३ करोड बराबरको रकम असुल उपरका लागि कानूनबमोजिम कारबाही गर्न नेपाल प्रहरीमा पत्र लेखी पठाएको पनि प्रमुख ढकालले जानकारी दिए । विभागले केही हप्ता अघि बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संस्थालाई अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई लिखित निवेदन पठाएको थियो । ठगी गर्नेमा न्युरोड, पुतलीसडक र बानेश्वर क्षेत्रका सहकारी बढी मात्रामा रहेको पनि बताइएको छ ।

बचतकर्ताको रकम फिर्ता नगरिएको रकम न्युनमत रु १० हजारदेखि रु एक करोडसम्म रहेको अनुगमनका क्रममा पाइएको पनि विभागले जनाएको छ । अनुगमनकै क्रममा साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामपाकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो ।

एक हजार ८५६ सहकारीलाई घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।

कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारी विरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट भइसकेको विभागले जनाएको छ ।

कामपाका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । सबै सहकारीलाई दैनिकरूपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरूपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्नेछ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरूप कारवाहीको प्रक्रिया अघि बढाइने प्रमुख ढकालले बताए । हाल कामपामा रहेका सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन हुनुपर्नेछ ।