बाग्मती

साइकल लेनको अभाव, मोटरसाइकलको बढ्दो प्रयोग

रत्ननगर । कुनैबेला साइकलको जिल्ला भनेर परिचित चितवनमा अहिले साइकल देख्नै मुश्किल हुन थालेको छ । साइकल लेनको अभाव, मोटरसाइकलको बढ्दो प्रयोग र आधुनिक जीवनशौलीले गर्दा साइकल देख्न मुस्किल हुन थालेको हो ।

चितवनको मुख्य राजमार्ग क्षेत्रमा छिटफुटरुपमा साइकल चलाएको देख्न पाइन्छ । दश वर्षअघिसम्म चितवनवासीले साइकलको प्रयोग गरी विभिन्न कृषिका कामदेखि बाहिरी जिल्लामा जानसमेत साइकलको प्रयोग गर्ने गर्दथे । अहिले साइकललाई विभिन्न उत्सवको ¥याली, बिहानमा शारीरिक व्यायाम गर्न र तराईबाट आएका मजदुरले मात्रै प्रयोग गरेको पाइएको छ ।

जिल्लाका भित्री बस्तीमा अझै पनि साइकलको प्रयोग गर्ने भेटिए पनि बजार क्षेत्रमा साइकलको ठाउँमा मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको छ । साइकल सिटी भनेर देश परिचित भए पनि साइकल अनुकूल पूर्वाधार निर्माण नहुँदा साइकल प्रयोग गर्नेको सङ्ख्या पातलिएको विज्ञहरुको भनाइ छ । चितवनका महानगरपालिका तथा नगरपालिकाले साइकल लेनका लागि डेढदेखि साढे दुई मिटरसम्म सडक क्षेत्र छुट्याउनुपर्ने इञ्जिनीयर डा सूर्यराज आर्चायले बताए ।

“अहिले निर्माण भइरहेका पिचमा साइकल लेन अनिवार्य छ”, उनले भने, “जिल्लामा लेन निर्माण गरी साइकल सिटीको रुपमा ब्राण्डिङ गर्न सकिन्छ । नेपालको साइकल सिटी बनाउन उपयुक्त ठाउँ चितवन हो ।” चितवनको भौगोलिक अवस्था साइकल चलाउनका लागि उपयुक्त भएकाले साइकलको प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा स्थानीय तहले चासो दिनुपर्ने उनको भनाइ छ । चितवनलाई साइकल सिटी भनेर प्रवद्र्धन गर्न सक्यो भने पर्यटकीय, शारीरिक, स्वास्थ्य, प्रदुषणमुक्त र वातावरणमैत्री स्थानको रुपमा विकास गर्न सकिने डा. आर्चायले बताए ।

साइकल प्रयोग गर्नाले आफ्नो प्रतिष्ठामा आँच आउने खालका सोचले साइकल प्रयोगकर्ता कमी आएको चितवनका साइकल व्यवसायी बताउँछन् । पछिल्लो समय बच्चा तथा गेयरवाला साइकल बिक्री हुने गरे पनि जेन्स तथा लेडिज साइकल बिक्री न्यून हुँदै गएकोसाइकल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष धर्मराज सापकोटाले बताए ।

“अहिले साइकल चढ्न हुन्न भन्ने संस्कृति मौलाएको छ” उनले भने, “पहिला पहिला अभिभावकले आफ्नो बच्चाले एसएलसी दिएपछि साइकल किनिदिने गर्थे । तर अहिले साइकल छाडेर मोटरसाइकल किनिदिने गरेको पाएका छौँ ।”

व्यवसायी सापकोटाले साइकल बिक्री कम हुँदै गएपछि साइकल व्यवसायीले अन्य व्यवसायमा हात हालेको बताए । गत वर्षभन्दा यस वर्ष साइकल व्यवसायीको सङ्ख्यामा पनि कमी आएको छ । यही अवस्था कायम रहे साइकल व्यवसाय केही वर्षपछि नै विस्थापित हुने उनको भनाइ छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले साइकल वातावरणमैत्री सवारीसाधन भएको बताउँदै महानगरभित्र निर्माण हुने ठूला सडकमा साइकल लेन राखिने बताईन् । अहिले डिपिआरसँगै निर्माण शुरु भइसकेको चक्रपथ र लिङ्करोडमा साइकल लेन पनि बनाउने उनले जानकारी दिईन् ।

विसं २०६१ मा स्थापना भएको चितवन साइकल व्यवसायी सङ्घमा गत वर्षदेखि नवलपुरका व्यवसायी पनि थपिएका छन् । चितवन र नवलपुरमा ६५० साइकल व्यवसायी रहेका छन् । चितवनमा मात्रै ४१० साइकल व्यवसायमा आबद्ध छन् ।