बाग्मती

दुईदिने एकीकृत घुम्ती शिविरबाट २७७ नागरिकताको प्रमाणपत्र वितरण

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोवीमा सञ्चालन भएको दुईदिने एकीकृत घुम्ती शिविरमा २७७ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी ३१७ ले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । शिविरमा ४१ उद्योग र वाणिज्य दर्ताका लागि सिफारिश प्रदान गरिएको छ । शिविरमा लिखु तामाकोशी गाउँपालिका वडा नं १, २, ३, ४ र ५ का सेवाग्राहीको ठुलो भीड लागेको थियो । नागरिकले सिंहदरबारको अधिकार गाउँमा गएको प्रत्यक्ष अनुभूत गर्न पाऊन भनी गाउँपालिकामा शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताए ।

शिविरमा नागरिकता वितरण, मतदाता परिचयपत्रका लागि फोटो खिचाउने तथा घरेलुको सिफारिश दिने कामसमेत भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले बताए । शिविरमा वडा कार्यालयले व्यक्तिगत घटना दर्ता तथा विभिन्न सिफारिशलगायतका सेवासमेत प्रदान गरिएको थियो ।