समाचार

भारतीय पत्रकारको कुम्भमेलामा नेपाली पत्रकार

काठमाडौँ । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्केका छन्। कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशन ¬(एमडिजेए) को संयुक्त आयोजनामा कर्णाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा यही फागुन १७–१८ गते आयोजित भेलामा कर्णाटक राज्यका करीब दुई हजार पाँच सय पत्रकार सहभागी थिए ।

राज्यस्तरको ३४ औंँ सो पत्रकार भेलालाई कर्णाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले सम्बोधन गरेका थियो भने समग्र भेलामा विशेष आतिथ्यता र ‘भिडियो जर्नालिज्म न्यू च्यालेञ्जेज’ शीर्षकको सत्रको उद्घाटन तथा मन्तव्यका लागि सिलवाललाई त्यहाँ निम्त्याइएको थियो । भेलामा पुराना तस्वीर, छपाइ यन्त्र, रेडियो, क्यामरा र टिभी प्रदर्शनीमा राखिएको थियो भने पत्रकारिता र यस क्षेत्रका अनेक विषय र आयामबारे अनेक अन्तरक्रिया भएका थिए ।

वरिष्ठ पत्रकारको सम्मानसमेत गरिएको सो पत्रकारिता उत्सवमा कर्णाटकका अधिकांश सम्पादक, सम्वाददातामात्र होइन, मिडिया अध्येता र विद्यार्थीको पनि सहभागिता थियो । विद्यार्थीले पूर्वमुख्यमन्त्रीसँग राजनीति र फेक न्यूज आदिबारे छलफल गरेका थिए । मिडिया र राजनीति, मास मिडिया स्वसञ्चालन नीति, मिडिया एण्ड डिजिटलाइजेशन च्यालेञ्जेज, फोटो पत्रकारिता बदलिँदो फोटोग्राफी दुनियाँ, मिडिया र लैङिक संवेदनशीलतालगायत दर्जनौं विषयमा अन्तरक्रिया भएको ।  सन् १९३४ मा स्थापित भएर शुरुदेखि नै पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिता पेशाको संरक्षण र वृत्ति विकासका लागि सक्रिय एमडिजेएमा कर्णाटक राज्यका सबै जिल्ला एशोसिएशन आबद्ध छन् । एमडिजेए इण्डियन फेडरेशन अफ वर्किङ जर्नालिष्ट (आइएफडब्लुजे) नयाँ दिल्लीसँग आबद्ध छ ।

त्यति ठूलो कार्यक्रममा भारतीय मित्रहरुले आफूलाई प्रदान गरेको सो सम्मान आफ्नो व्यक्तिगतभन्दा पनि नेपाल राष्ट्रको सम्मान भएको लाङ्टाङ सद्भावनादूतसमेत रहनुभएका सिलवालले बताए । यसअघि श्रीलङ्काको सबभन्दा पुरानो पत्रकार संस्था श्रीलङ्का प्रेस एशोसिएशन (एसएलपिए) ले आफ्नो ६३ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालका तर्फबाट पत्रकारिता, पर्यटन र प्राध्यापनमा सक्रिय सिलवाललाई निम्त्याइएको बताइएको छ ।