समाचार

विद्यालयमा छात्रा बेहोश महिनौँ देखि विद्यार्थी काँप्दै

डोटी । जिल्लाको सायल गाउँपालिका ६ खातीवडाका पुरन साउदले छोरी रिङ्कुलाई पढ्दै गरेको दल्लेकस्थित हिमालय आधारभूत विद्यालयबाट छुटाएर अर्को विद्यालयमा सारेका छन् ।
उक्त विद्यालय जाँदा छोरी काँप्ने (देउता आउने) भएकीले उनले सो विद्यालयबाट निकालेर गोलदेउला एकेडेमीमा भर्ना गरेका हुन् । “त्यो विद्यालयमा पढ्दा मेरो छोरी धैरै पटक काँपेकीले उनलाई अर्को विद्यालयमा भर्ना गरेँ” उनले भने।

साउदका अनुसार नयाँ विद्यालयमा पनि रिङ्कु एक पटक कापिन तर अहिले अवस्था सामान्य छ । उक्त विद्यालयका कपितपय छात्रा विगत दुई महीनादेखि लगातार काँप्ने, चिच्याउने, मुठ्ठी कस्ने र बेहोस् हुने गरेको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर बोगटीले बताए । उनले भने, “निरन्तर दुई महीनादेखि विद्यार्थी काँप्दै आएका छन् । छात्रा काँप्ने गरेकै कारण कतिपय अभिभावकले विद्यालय परिवर्तन गरिसके । यसबाट विद्यालयको पढाइमा समेत असर परेकोे छ ।”

उक्त विद्यालयमा मध्यान्हको १२ बजेपछि प्राय धेरै छात्रा बेहोस हुने गरेको सो विद्यालयका अर्का शिक्षक गोपाल बोगटीले बताए । उनले भने, “छात्रा काँप्न थालेपछि हामीले धामीझाँक्री पनि प्रयोग ग¥यौँ, त्यसोगर्दा उत्तिबेला ठिक हुन्छ तर दोस्रो दिनदेखि फेरि समस्या बल्झिने गरेकाले हामी हैरान भइसकेका छौँ ।” उक्त विद्यालयमा छात्रा काँप्ने समस्याले विद्यालयको पढाइमा असर परेको र कतिपय छात्रा अन्तै जान थालेको खबर प्राप्त भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

उनले भने, “पहिला सामान्य समस्या हो भनेर विद्यालयले जानकारी दिएन, अहिले जानकारी गराएको छ, स्वास्थ्यकर्मीसँग सल्लाह गरेर आवश्यक कदम चाल्छौँ ।” ‘कन्भर्सन डिसअडर’ भएकाकारण उक्त विद्यालयका छात्रा काँपेको हुनसक्ने जिल्ला अस्पतालका डा गिरीस अवस्थीले बताए । “यो समस्या महिला पुरुष दुवैमा देखिने भए पनि महिलामा बढी देखिने गर्छ”, उन भने, “महिलाको मनमा गुम्सिएर रहने तनावले गर्दा यसो भएको हुनसक्छ ।” पहिले यसलाई ‘मास हिस्टेरिया’ भन्ने गरिन्थ्यो तर चिकित्सकीय भाषामा यसलाई ‘कन्भर्सन डिसअडर’ भनिने गरिएको डा अवस्थीले जानकारी दिए ।

यस्तो समस्या भएको व्यक्तिमा कराउने, चिच्याउने, हात खुट्टा बाउडिने, मुठ्ठी कस्नेजस्ता लक्षण देखिने गरेको उनको भनाइ थियो ।