अन्तर्राष्ट्रिय

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

शाङ्घाई । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनीया बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो । टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो ।

चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ । प्रारम्भमा यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ । टेस्लाका प्रमुख कार्यकारी एलन मस्क गत जनवरीमा चीनको भ्रमण गरेका थिए । चीनमा रहँदा उहाँले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनीया बैंकहरुसँग पूँजीका लागि छलफल गरेका थिए ।

टेस्लाले चिनीया औद्योगिक तथा बाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र शाङ्घाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख ऋण रकम प्राप्त गरेको छ । टेस्लाको उक्त घोषणासँगै न्यूयोर्क शेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ ।

चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो र वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ । तर सन् २०१८ मा २।८ प्रतिशतले कार बिक्री घटेको चिनीया अधिकारीहरुले जनाएका छन् । विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ । गत वर्ष विद्युतीय सवारी साधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ ।चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणी स्थानमा छन् ।