गण्डकी प्रदेश

स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु एक करोड ८५ लाखको लगानीमा निर्माण गरेको भवन स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

अठार महीनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७२ मा शुरु भएको भवन निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरवाहीका कारण तीन वर्षमा बनेको वडाध्यक्ष जीवन मल्लले बताए । उन्नाइस कोठा भएको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, श्यया रहने छुट्टाछुट्टै कक्ष छन् । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री पनि छ ।

निर्माण कम्पनीका प्रतिनिधि पवनकुमार मल्लले नाकाबन्दी, चुनाव लगायतका कारणले भवन निर्माणमा ढिलाइ भएको बताए । गाउँपालिको ३ नं वडाका बासिन्दाले सेवा लिने पिप्ले स्वास्थ्यचौकी हाल जीर्ण र साँघुरो कोठा भएको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । मालिका गाउँपालिका–४ च्युरीबोट र अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा निर्माण भएको भवन हस्तान्तरण भइसकेको छ । मङ्गला गाउँपालिका–३ बरङ्जामा निर्माण भएको स्वास्थ्यचौकीको भवन पनि हस्तान्तरणको तयारीमा छ । देवीस्थान, घार र कुहुँ स्वास्थ्यचौकीको भवन निर्माणकार्य समेत अन्तिम चरणमा पुगेको छ ।

हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्यचौकीका भवन निर्माणाधीन अवस्थामा छन् । गत आर्थिक वर्षमा बिम र भगवती स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको थियो । सदरमुकामस्थित बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।