लुम्बिनी

सवारीसाधन तोडफोड, आगजनी, बम विस्फोटनसम्मका घटनाले रोल्पाको जनजीवन त्रासमा

रोल्पा । बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो ।

बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा२झ ३६५२ नं जिपको सिसा फुटेको छ । बुधबार राति गङ्गादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको भाडाको जिपमासमेत अज्ञात समूहले आगजनी गर्यो । आगजनीबाट उनले प्रयोग गर्दै आएका भे१च २७८५ नंको बोलेरो जिप पूर्णरुपमा क्षतिग्रस्त भयो ।

बिहीबार राति अज्ञात समूहले गराएको आगजनीबाट त्रिवेणी गाउँपालिकाको स्काभेटर क्षतिग्रस्त भएको थियो । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ नुवागाउँमा पार्किङ गरी राखेको अवस्थामा उक्त स्काभेटरमा अज्ञात समूहले आगजनी गर्यो । बिहीबार दिउँसो रोकीराखेको अवस्थामा माडी गाउँपालिका–२ घर्तीगाउँको मोटरसाइकलमा समेत आगजनी भयो । वडाध्यक्ष सुदीप घर्तीले प्रयोग गर्ने उक्त मोटरसाइकल पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

बिहीबार दिउँसो नै रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिकै वेवारिसे बम फेला पर्यो । जुगारस्थित गाउँपालिका कार्यालयदेखि ५० मिटर दूरीमा दुई बम फेला परेको थियो । रातो झोलाभित्र पोलिथिन व्यागमा राखेको अवस्थामा उक्त बम फेलापरेकोे थियो । विद्यार्थीले खेल्ने क्रममा उक्त शङकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमै घटनास्थल पुगेका कारण उक्त बमबाट मानवीय तथा भौतिक क्षति हुन पाएन । बेवारिसे अवस्थामा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

रोल्पा सदरमुकाम लिवाङसिथत नेपाली काङ्ग्रेस पार्टी कार्यालय नजिक दुई बम रहेको हल्ला फैलियो । प्रहरीले सर्च गर्दा सो ठाउँमा दुई ग्रिनेट बम फेला पार्यो । नेपाली सेनाले बमलाई निष्क्रिय बनाएपछि सर्वसाधारणमा देखिएको त्रास कम भयो । रोल्पा नगरपालिका नजिकै रहेको नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा उक्त बम राखिए पनि सो बम नगरपालिकालाई लक्षित गरी राखिएको आशङ्का गरिएको छ । जिल्लामा पछिल्लोपटक घटेका सबै घटना स्थानीय सरकारप्रति लक्षित देखिन्छन् ।

बम कसले कुन उद्देश्य राखेको भन्ने खुल्न सकेको छैन । सबै घटनाका दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अदालतमा मुद्दा दायर गरेकै दिन उक्त घटना घट्नुले उक्त यसमा सोही पार्टीले गराएको हुन सक्ने आशङ्का गरिए पनि आधिकारिक पुष्टी भने हुनसकेको छैन ।

माओवादी सशस्त्र युद्धमा सबैभन्दा बढी पीडा भोगेको रोल्पामा फेरि युद्धको झल्को दिने गरी भएका गतिविधिले सर्वसाधारण चिन्तित देखिन थालेका छन् । वार्ता छलफल र सहमतिका आधारमा यस्ता गतिविधिलाई समयमै रोक्नुपर्ने प्रतिनिधिसभाका पूर्वसांसद लेखनाथ आचार्यको तर्क छ । सशस्त्र गतिविधिलाई नजरअन्दाज गर्नु हुँदैन विगतबाट पाठ सिक्दै समस्याको समाधानतर्फ लाग्नुपर्छ आचार्यले भने ।