गण्डकी प्रदेश

सरकारी भवन निर्माणका लागि जग्गा

म्याग्दी । म्याग्दी मालिका गाउँपालिकामा सरकारी कार्यालयको निर्माणका लािग ५३ रोपनी जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिकाको केन्द्र दरबाङ गाउँपालिकालगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि छ्यारछ्यारेमा रहेको ५३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउन स्थानीय समहत भएपछि जग्गाको व्यवस्थापन भएको हो ।

गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको आम भेलामार्फत दरबाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीयस्तरमा सहमति जुटेको हो । समुदायस्तरबाट जुटेको सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रक्रिया अघि बढाइने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

जग्गा व्यवस्थापनका लागि जुटेको सहमति गाउँपालिका र दरबाङका लागि महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष रोका मगरले बताए । सबै स्थानीय सरकारको कार्यालय व्यवस्थापनका लागि जग्गा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण र समन्वय गरी सहज वातावरण निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

स्थानीयस्तरमा जुटेको सहमतिअनुसार छ्यारछ्यारेमा गाउँपालिकाको साथै इलाका प्रहरी कार्यालय, खेल मैदान, अस्पताल र बसपार्क समेत निर्माण गरिने अध्यक्ष रोकाले जानकारी दिए। भेलामा प्रजिअ लीलाधर अधिकारी, मालपोत अधिकृत मुकुन्द पौडेल, डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटा, प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनी, नापी कार्यालय प्रतिनिधिका साथै स्थानीयवासी, अगुवा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।