प्रदेश 1

 एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

बनियानी । बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन ९सन्थाल०को पाँच वर्षअघिको हो । अहिले उनको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ पूँजी उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । अहिले उनको जीवनस्तर क्रमशः फेरिँदै गएको छ ।

उनजस्तै हल्दिबारी–५ की ६२ वर्षीया विष्णुमाया तामाङलाई पनि यो कार्यक्रम वरदानजस्तै बनेको छ । कार्यक्रममार्फत बाख्राको पाठी र बीउ पूँजी त उनले पाए र आयआर्जनका लागि तालीम र बचत गर्ने बानीको विकास पनि गरायो । झापामा पहिलोपटक विसं २०५७ मा कार्यक्रम लागू भएदेखि यो कार्यक्रमसँग जोडिनुभएकी उनले बताइन्, “हामीलाई जीवन जिउने आधार पाएका छौँ, बचत गर्ने बानीको पनि विकास भएको छ ।”

उनीहरुजस्तै झापामा करीब तीन हजार गरीब घरपरिवार यो कार्यक्रममार्फत लाभान्वित भएका गरीबसँग विश्वेश्वर कार्यक्रमका झापा संयोजक प्रकाश उप्रेतीले जानकारी दिए। झापामा चालू आर्थिक वर्ष २०७५÷७६ मा यो कार्यक्रमका लागि रु २४ लाख बजेट आएको उनले बताए । जिल्ला तत्कालीन १२ वटा गाविसमा यो कार्यक्रम लागू छ ।

झापाको ज्यामिरगढी, शान्तिगनर, गरामनी, दुवागढी, जलथल, बालुबाडी, सतासी, चकचकी, चारपाने, गौरादह, पाँचगाछी र जुरोपानीमा गरीबसँग विश्वेश्वर कार्यक्रम सञ्चालित छ ।
कार्यक्रमअन्तर्गत १२ स्थानमा १२ जना सामाजिक परिचालकसमेत खटिएका छन् । जलथलकी सामाजिक परिचालिका मीना उप्रेतीले २६७ महिला र तीन पुरुष गरी जलथलमा २७० जना गरीब परिवार लाभान्वित भएको बताइन् ।

“गरीबीको रेखामुनि रहेका जनताका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ”, उनले भनीन्, “कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न सहयोग मिलेको छ ।” कार्यक्रम राम्रो भए पनि न्यून बजेटका कारण केही असहजता सिर्जना हुने गरेको उनले बताइन् ।

कार्यक्रमअन्तर्गत लक्षित वर्गका घरपरिवारलाई बाख्रा–सुँगुरको पाठापाठी, आयआर्जन तालीम, बचत गर्ने बानीको विकास, पाँच प्रतिशत ब्याजमा बीउ पूँजी उपलब्ध गराइने गरेको कार्यक्रम संयोजक उप्रेतीले बताइन् । बीउ पूँजी तिरेपछि ब्याजसमेत फिर्ता हुने गरेको उनले जानकारी दिइन् ।

कार्यक्रमअन्तर्गतको बीउ पूँजीबापतको करीब रु २० लाख उठ्न बाँकी छ भने जिल्ला समन्वय समितिको खाता रोक्का भएपछि रु सात लाख रोकिएको छ । हल्दिबारी गाउँपालिका– ५ का वडाध्यक्ष होम चुडालले आगामी आर्थिक वर्षदेखि गरीबसँग विश्वेश्वर कार्यक्रमका लागि केही बजेट छुट्याइने बताए।