लुम्बिनी

मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सुरक्षित मातृत्व अभियान शुरु

रुपन्देही । विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरी अभियानको शुरुआत गरिएको हो । कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ ।

पति तथा परिवारसँगै काममा खटिने श्रमिक महिलालाई स्वास्थ्य सचेतना जगाउने, स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गर्नेदेखि सुत्केरी भएकालाई पौष्टिक आहार वितरण गर्दै यस्तो अभियान शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य महाशाखाले यो अभियानको संयोजन गरिरहेको छ ।

‘उपप्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रम’ शीर्षकमा शुरु भएको यो अभियानलाई उपमहानगर मातहतका शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत १९ वटै वडामा विस्तार गरिनेछ ।

बिहीबार बुटवल–११, बुद्धनगरमा सुत्केरी भएकी श्रमिक महिला लक्ष्मी कुवँर, मनिषा परियारलाई पौष्टिक आहार तथा क्याल्सियम, आइरनलगायत सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यले संयुक्तरुपमा कार्यक्रमको शुभारम्भ गरिन् । प्रमुख सुवेदीले महिला तथा शिशुले पाउने आवश्यक मातृत्व सेवालाई सुरक्षित बनाउँदै समयमै तथा स्तरीय स्वास्थ्य सेवा पाउने गरी नगरका सबै स्वास्थ्य केन्द्रमा विशेष निर्देशन गरिएको बताइन्।

महिलाको सम्मानजनक मातृत्वका लागि समुदायलेसमेत पहल गर्न जरुरी रहेको बताउँदै प्रमुख सुवेदीले बच्चा जन्माउँदा हुने हेलचेक्र्याइँ र हानिकारक उपचारबाट जोगाउने गरी अभियान चलाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइन् । उपप्रमुख तथा लैङ्गिक हिंसामुक्त नगर अभियानका संयोजक गुमादेवी आचार्यले कमजोर स्थिति भएकै कारण महिलालाई कसैले होच्याउने वा जोखिमपूर्ण व्यवहार गर्न नपाउने गरी विशेष नियमसमेत बनाउन लागिएको बताइन् ।

शुभारम्भ गरिएकै दिन चार जना सुत्केरी महिला र ४८ जना गर्भवती महिलालाई पौष्टिक आहार र औषधि वितरण गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए ।

अभियानमा जनप्रतिनिधि प्रमुख उपप्रमुख, वडा अध्यक्ष रामचन्द्र क्षेत्री, कार्यपालिका सदस्य सीता थापा आचार्य, विमला श्रेष्ठ, सुष्मा अर्याल तथा स्वास्थ्यकर्मी अभिनाश अधिकारी, कल्पना भट्टराई, पदम अर्याललगायतको टोली श्रमिक महिलाको घरमा पुगेको उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख गीता पाण्डेले जानकारी दिए।

नगरमा रहेका नगर स्वास्थ्य केन्द्र तथा अरु स्वास्थ्य संस्थामा सम्मानजनक प्रसूति सेवा प्रदान गर्नेगरी स्वास्थ्य सेवाप्रदायकलार्ई तालीम र परामर्श दिने अभियानसमेत शुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।