राजनीति

महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्छ– तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताएका छन् । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न नविनतम पहल जरुरी रहेको बताए ।

लैङ्गिक समानताका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता, विभेदरहित व्यवहार हुनु जरुरी रहेको सन्देशमा उनको सन्देशमा उल्लेख छ । सन्देशमा उनले “संविधान कार्यान्वयनका क्रममा भएको तीन तहको निर्वाचनबाट सङ्घीय संसद्मा ३३।२३ प्रतिशत, प्रदेशसभामा ३४।३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व रहेकाले नीति निर्माण तहमा लैङ्गिक समानताका दृष्टिले नेपाल विश्व समुदायका लागि उदाहरण बनेको छ ।”

सन्देशमा महिला सशक्तीकरण, सकारात्मक विभेद, आरक्षण, विशेष संरक्षणका कार्यक्रममार्फत महिलाको चौतर्फी विकास गर्न जरुरी रहेको उल्लेख गर्दै समतामूलक समाज, राष्ट्र, एवं विश्व निर्माण गर्न आह्वानसमेत गरेका छन्।