खेलकुद

सामाजिक युवा क्लब विजयी

काठमाडौँ । शहीद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सामाजिक युवा क्लब विजयी भएको छ । सातदोबाटो स्थित अखिल नेपाल फुटबल सङ्घको खेल मैदानमा आज भएको खेलमा सामाजिक युवा क्लबले स्वयम्भु क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

सामाजिक क्लबका लागि सुरेश खत्रीले दुई तथा कृजल खड्काले एक गोल गरे । सुरेशले खेलको पहिलो हाफको २९औँ मिनेटमा पहिलो गोल गरेका थिए । स्वयम्भुका लागि विजय श्रेष्ठले गोल फर्काए । खेलको दोस्रो हाफको ६७औँ मिनेटमा सुरेशले दोस्रो गोल गरे । कृजलले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरे ।

‘सी’ डिभिजन लिगमा ११ क्लब सहभागी छन् । समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस क्लब, मनोहरा एकीकृत युथ क्लब, सानोगौचरण युवा क्लब र सामाजिक युवा क्लब छन् । समूह ‘बी’ मा वीरगञ्ज युथ एकेडेमी, खालीबारी युवा फुटबल क्लब, महावीर स्टडिज एण्ड एथलेटिक्स एशोसिएसन, सानेपा क्लब र समाज कल्याण खेलकूद केन्द्र छन् । लिगको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछन् । यसैगरी विधागत उत्कृष्ट हुने खेलाडीले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।