आर्थिक

विभिन्न क्षेत्रका सात महिलालाई सम्मान

चिप्लेढुङ्गा । चेम्बर अफ कमर्श पोखराले विभिन्न क्षेत्रका सात महिलालाई सम्मान गरेको छ । एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा पोखरा चेम्बरले पर्यटनबाट इन्दिरा बराल, शिक्षाबाट उमा लामिछाने, सहकारीबाट कमलादेवी गिरी, उद्यमशीलताबाट राजकुमारी पन्थी, सञ्चारबाट नरमाया रसाइली, कलाकारिताबाट मिलन शेरचन र यातायातबाट ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरेको थियो ।
सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले लैङ्गिक विभेदको अन्त्य गर्न सके सभ्य समाजको निर्माण हुने बताउँदै समतामूलक समाजका लागि सबै जुट्नुपर्ने बताउँदै महिला विकासको बाधक रहेका कानूनलाई संशोधन गरिने जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइराला र पुष्पा केसीले महिलाको श्रमलाई अर्थमा रुपान्तरण गर्नुपर्ने बताए । चेम्बरका अध्यक्ष किसान सुनारले संस्थाले सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै लैङ्गिक समानताका लागि एकताबद्ध भएर हिंसाविरुद्धको अभियानमा सधैँ सहकार्य गर्ने बताए। सोही अवसरमा उपाध्यक्ष गीता तिवारीको संयोजकत्वमा चेम्बर महिला उपसमिति गठन गरिएको छ ।