समाचार

‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई’

गलेश्वर । ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई’वर्षौं पहिले लोक गायक खड्ग गर्बुजाले यो गीत गाउँदा धेरैको मनमा कस्तो होला सोलेडाँडा भन्ने जिज्ञासा हुन्थ्यो तर अहिले यातायातको पहुँचसँगै यो स्थल पर्यटकको गन्तव्य बनेको छ । गर्बुजाको उक्त गीतमा आफ्नो प्रेमीलाई झुक्याएर कान्छीले सोलेडाँडा काटेर गए पनि अहिले सयौँ कान्छा कान्छीहरु यहाँ आएर रमाउन थालेका छन् ।

टाढाटाढाबाट पर्यटकको आगमन हुने गरे पनि यहाँ पूर्वाधारको अभाव छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटमा पर्ने उक्त कुनै सुविधा नहुँदा त्यहाँ पुग्ने पर्यटकले समस्या भोग्नुपरेको हालै सोलेडाँडामा पुगेर फर्किएका पत्रकार प्रताप बानियाँले बताए । म्याग्दीको रुम, ओखरबोट र बागलुङको पश्चिमी तमान, लाम्मेला क्षेत्रसम्म फैलिएको उक्त डाँडोमा खानेपानी, शौचालय, अवासस्थल बनाउन सकिएको छैन ।

म्याग्दीको पश्चिमी भेगसहित बागलुङको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने तमान, खुङ्खानी, बुङ्गादोभान र खुङ्गालगायत क्षेत्रका बासिन्दा बागलुङ पुग्न सोलेडाँडाकै बाटो प्रयोग गर्ने गरेको ओखरबोटका नन्दबहादुर घर्तीमगरले बताए । समुद्री सतहदेखि करीब तीन हजार मिटरको उचाइमा अवस्थित उक्त डाँडो सडक सञ्जालसँग जोडिएपछि बागलुङको विकट क्षेत्रका बासिन्दालाई तीनदिन लगाएर सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।

सोलेडाँडाबाट आसपासका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसका साथै धौलागिरि, गुर्जा, चुरेन, अन्नपूर्ण, नीलगिरि, माछापुच्छे«लगायत आधा दर्जन हिमशृङ्खला देख्न सकिन्छ । त्यहाँ चैत, वैशाखमा लालीगुराँस र पुस, माघमा हिमाल हेर्न आउनेको घुइँचो लाग्न थालेको छ ।

सोलेडाँडामा पुग्ने आन्तरिक पर्यटक नजिकै रहेको गाँडाखसुङ तालमा पनि पुग्ने गरेका छन् । स्वर्गद्वारी पुग्न सजिलो र छोटो दूरीको मार्गका रूपमा समेत चिनिने उक्त डाँडालाई म्याग्दी र बागलुङका बासिन्दाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने माग गरेका छन् । घरबास, दृश्यावलोकन स्थम्भलगायत पर्यटकलाई आकर्षित गर्ने खालका विभिन्न कार्यक्रम बनाएर काम गर्न सकिने सो योजनामा दुवै जिल्लाको लगानी हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।

दुई दिनको पैदलयात्रा गर्नुपर्ने उक्त स्थानमा सडक विस्तारले चार घण्टामा सीमित पारेकाले पश्चिम म्याग्दीको दरबाङ, देवीस्थान, निस्कोट, विद्यालयका शिक्षक, विद्यार्थी शैक्षिक भ्रमण तथा वनभोजका लागि आउने गरेका छन् । सोलेडाँडासम्मको सडक मर्मत गरिएको र अब उक्त स्थलको गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताए ।

बगरफाँटमा अझै परम्परागत कृषि

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाका भए पनि यहाँ अझैसम्म परम्परागत कृषि प्रणाली कायमै छ ।

प्राङ्गारिक गाउँको रुपमा परिचित बगरफाँटका केही किसानले खेतीपातीमा आधुनिक प्रविधि प्रयोग गरे पनि प्रायः कृषकले अझै पनि खनजोतदेखि मल बीउसम्म परम्परागत प्रविधि र सीप प्रयोग गर्दै आएका छन् । म्याग्दीको अन्नभण्डारसमेत भनिने बगरफाँटका करीब २०० कृषक जागीर तथा व्यापारसँगै कृषिलाई पनि पुख्र्यौली पेशाका रूपमा अपनाउँदै आइरहेकाले यसलाई व्यावसायिक बनाउन आवश्यक भएको बगरफाँटका अगुवा कृषक जीतबहादुर कार्कीले बताए।

जिल्ला कृषि ज्ञान केन्द्रले यहाँका कृषकलाई सहुलियतसहित अनुदान र निःशुल्क विभिन्न किसिमका कृषि सामग्रीहरु प्रदान गर्दै आए पनि व्यावसायिक रूपले अघि बढाउनेतर्फ कसैको ध्यान नगएको उक्त केन्द्रका बागवानी विकास अधिकृत सुजित पौडेलले बताए । बगरफाँट ताजा तरकारी र प्राङ्गारिक बाली विस्तार गर्न सकिने भए पनि यहाँका कृषकले व्यावसायिक रूपमा कृषि पेशा अपनाएका छैनन । बगरफाँटका केही कृषकले प्राङ्गारिक खेती गर्दै आएका यहाँ उत्पादित तरकारी र अन्नबालीको माग बजारमा बढेपनि किसानले मागअनुसारको उत्पादन गर्न नसकेको अर्का कृषक तिलकुमारी कार्कीले बताईन् ।