बाग्मती

‘वुमन हिस्ट्री मन्थ’(मार्च)का अवसरमा ‘वुमन’ एक्सन अवार्ड – डा. परियारलाई

काठमाडौँ । समाजसेवी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदरस्वरूप बुधवार उक्त पुरस्कारद्वारा सम्मान गरिएको यूएस नेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियारले जानकारी दिए।
डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीका लागि जर्सी सिटी काउन्सिलवाच टिपिएस रिजोलुसन पारित भएको थियो । सन् २०१७ जुन ३० मा नेपाल र नेपालीको सम्मानका लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकी भूमि सिटी हलमा पहिलो पटक नेपाली ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन उनी सफल भएकी थिईन्।
सिटी हल भवनभित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो र विश्वमै सम्भवतः पहिलो घटना हो । त्यसैगरी जर्सी सिटी मेयर स्टेभन फुलपका सल्लाहकार तथा दुई शहरबीचको इमिसरी (विशेष दूत) का रूपमा नियुक्त गोरखाकी डा परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ जनवरी २४ मा अमेरिकाको जर्सी सिटी शहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच भगिनी शहर बनाउने सफलता मिलेको थियो ।
दुई शहर र गाउँपालिकाबीच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उनकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाइमा जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ मा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको डा परियारले जानकारी दिईन् । अन्य मुलुकको शहरसँग सिस्टर सिटी बन्ने इन्द्रावती विश्वमै नेपालको पहिलो गाउँपालिका हो । विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी डा परियारका नाममा अमेरिकाको केन्टकी राज्यको लुइभिल शहरले सन् २०१५ सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ । विश्वभरका १५५ भन्दा बढी देशका न्यूयोर्कमा स्थापित वाणिज्यदूतावासको सङ्गठन ‘सोसाइटी अफ फरेन कनुल्स इन न्यूयोर्क’ ले विश्व नारी दिवस २०१८ का अवसरमा सत्र देशका नारीसंँगै डा परियारलाई सम्मान गरिसकेको छ ।